खाद्यले लक्ष्य अनुरुप धान खरिद गर्न सकेन

मसिनोमा गनिने सावा मनसुली धान खरिद गर्ने अनुमती पाएको खाद्यको यो कार्यालय मुलुकभरिको एकमात्र हो । कम्पनीले भैरहवा बाहेक पश्चिम नवलपरासी र कपिलवस्तु जिल्लाको कुनै पनि स्थानमा धान खरिद केन्द्र राखेको छैन ।

चैत्र १९, २०८२

माधव ढुंगाना

Food Ministry fails to procure rice as per target

भैरहवा — पश्चिम नवलपरासी र कपिलवस्तु जिल्लाका किसानलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाले धान खरिद कार्य लक्ष्य अनुरुप गर्न सकेन । 

यस वर्षका लागि भैरहवाबाट ५ हजार क्विन्टल सावा मनसुली धान खरिद गर्ने लक्ष्य राखेकोमा आधाभन्दा कम परिमाणमात्रै खरिद भएको छ । यी जिल्लामा किसानले बढी मात्रामा सावा मनसुली धान लगाउने भएकाले भैरहवा कार्यालयबाट सावा मनसुली धानमात्र खरिद गर्ने योजना कम्पनीले यस वर्ष राखेको थियो ।

मसिनोमा गनिने सावा मनसुली धान खरिद गर्ने अनुमती पाएको खाद्यको यो कार्यालय मुलुकभरिको एकमात्र हो । कम्पनीले भैरहवा बाहेक पश्चिम नवलपरासी र कपिलवस्तु जिल्लाको कुनै पनि स्थानमा धान खरिद केन्द्र राखेको छैन ।

धान खरिद गर्न बजार भाउ भन्दा धेरै राखेर समर्थन मूल्य कायम गरेपनि किसानहरु धान बिक्री गर्न कम संख्यामा आएपछि खरिद गर्न कार्यालय लक्ष्य अनुरुप पुग्न नसकेको हो । कम्पनीको भैरहवा कार्यालयका अनुसार, प्राथमिक खरिद समितिले प्रति क्विन्टल ३ हजार ६ सय रुपैयाँ ३३ पैसा मूल्य निर्धारण गरी मंसिर ५ गतेदेखि धान खरिद कार्यक्रम सुरु भएको थियो । समितिले यो मूल्य निर्धारण गर्दा बाहिर बजारमा मनसुली धानको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय रुपैयाँ मात्र थियो ।

कम्पनीको प्रादेशिक कार्यालय भैरहवाका सूचना अधिकृत तथा गुण नियन्त्रण अधिकारी बसन्तराज अधिकारीले यसवर्ष २ हजार ५० क्विन्टलमात्र सावा मनसुली धान खरिद भएको र गत माघ २३ गतेदेखि धान खरिद कार्याक्रम बन्द गरिएको बताए ।

उनका अनुसार, धान बिक्री गर्न आएका रुपन्देही र आसपास क्षेत्रका २२ जना किसानको धान खरिद भएको थियो । कम्पनीले निर्धारण गरेको खरिद मूल्य केही समयपछि बजारमा व्यापारी तथा स्थानीय राइसमिल व्यवसायीले कायम गरेपछि किसान बिक्रीका लागि व्यवसायीसँग जान थालेका थिए । 

व्यवसायीलाई धान खरिद गर्न गुणस्तर कायम गर्नुपर्ने बाध्यता नहुने कारणले गर्दा किसानलाई बिक्री गर्न सहज भएको थियो ।

कम्पनीले भने केही किसानको धान निर्धारित मापदण्ड अनुरुपको गुणस्तर नभएकाले फर्काएको थियो । ‘लक्ष्य अनुरुपको धान खरिद गर्न बजार भाउ भन्दा केही धेरै मूल्य निर्धारण गरी यस बारेमा प्रचारसार गरी किसानलाई जानकारी पनि गराएका थियौं,’ अधिकारीले भने, ‘लक्ष्य अनुरुपको धान खरिदका लागि निर्धारित मापदण्ड पूरा भएको गुणस्तरीय धान कार्यालय समक्ष आएन ।’

धेरै भुस भएको, अन्य धान मिसिएको, धानमा बढी चिसोपन भएको, दाना बिग्रेको धान कम्पनीले खरिद गरेको थिएन । भैरहवाको उद्योगपुरीस्थित मुक्तिनाथ खाद्य उद्योगका सञ्चालक तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुलप्रसाद न्यौपानेले खाद्य कम्पनीले धान खरिद गर्दा गुणस्तरको मापदण्ड हेरेर मात्र खरिद गर्ने तर बजारमा भने गुणस्तरमा केही कमी भए पनि खरिद गर्ने भएकाले किसान तथा धान व्यापारी बिक्रीका लागि कम्पनीमा भन्दा व्यवसायीसँग जाने गरेको बताउँछन् ।  

‘हामीले मनसुली धानमा अलिअलि अन्य धान मिसिएको र बढी नै चिसोपन भएको पनि खरिद गर्ने गर्छौं । तर खाद्य कम्पनीले गुणस्तरको मापदण्ड पूरै पालना गर्ने गर्छ,’ न्यौपानेले भने, ‘कम्पनीले गुणस्तर हेरेर खरिद गरेपछि किसान तथा व्यापारीले हामीबाट धेरै फाइदा पाउँछन् ।’

रुपन्देहीको सियारी–६ मदनगञ्जका किसान गुलावचन्द्र बानियाले कम्पनीले खरिद गर्ने धानको मापदण्ड अनुरुप काटेको धान सुक्न कम्तीमा एक महिना किसानले पर्खिनुपर्ने र एक महिनासम्म पर्खिदा गहुँ खेती लगाउन ढिलाइ हुने बताउँछन् ।  

उनका अनुसार, पछिल्लो समयमा ७५ प्रतिशत किसानले धान काट्ने, सुकाउने, दाउने (दाइँ गर्ने) जस्ता झन्झट गर्न छाडेर खेतबाटै व्यापारीलाई धान बिक्री गर्न थालेका छन् । स्थानीय व्यापारी तथा मिल व्यवसायीले कम्पनीको भन्दा मूल्य केही कम भए पनि सावा मनसुली धानसँगै अन्य मोटा जातका धानको मिश्रण भए पनि खरिद गर्ने गर्छन् ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully