चैत १४ गते चरिचरनका लागि लगेको कुमार गजले आक्रमण गर्दा ४३ वर्षीय माहुते गंगाराम थारुको मृत्यु भएको छ भने यसअघि ०७८ वैशाखमा घाँस काट्न गएका बेला हात्ती रेखदेख गर्ने ३५ वर्षीय छोट्की थारुको हात्तीको आक्रमणमा परेर मृत्यु भएको थियो ।
What you should know
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पालुवा हात्तीको आक्रमणमा परेर चार वर्षमा दुई जना हात्ती स्याहार्ने कर्मचारीको ज्यान गएको छ ।
गत चैत १४ गते चरिचरनका लागि लगेको कुमार गजले आक्रमण गरेर माहुते ४३ वर्षीय गंगाराम थारुको मृत्यु भएको थियो । उक्त हात्तीले कुल्चेर उनको ज्यान लिएको निकुञ्जले जनाएको छ ।
गंगाराम १० वर्षदेखि फनैत पदमा करार सेवामा कार्यरत थिए । त्यस दिन हात्तीलाई नुहाइदिने क्रममा रिसाएर खोला छेउमा आक्रमण गरेको बर्दिया निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले बताए । आहारा खुवाइदिने, चरिचरनमा लैजानेदेखि नुहाइदिने कर्मचारीलाई आक्रमण गरेर मृत्युको मुखमा पुर्याएको उनले बताए ।
यसअघि ०७८ वैशाखमा घाँस काट्न गएका बेला ३५ वर्षीय फनैत छोट्की थारुको हात्तीको आक्रमण परेर मृत्यु भएको थियो । आफैंले हुर्काएको हात्तीका लागि घाँस काट्न जाँदा यात्राकली नामक हात्तीले उनको ज्यान लिएको हो । निकुञ्जका अनुसार एक दर्जन बढी हात्तीलाई तालिम दिएर समस्याग्रस्त वन्यजन्तुको उद्धार, नियमित गस्ती, स्वीप अप्रेसनमा पनि छोट्की हिँडेका थिए । उनीसँगै रहेका फनैत फोनिद्र थारु भने आक्रमण गर्न लाग्दा भागेर ज्यान बचाउन सफल भएका थिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले २५ वर्षको अवधिमा नेपालमा पालुवा हात्तीको आक्रमणबाट ७ जनाले ज्यान गुमाएको बताए । उक्त अवधिमा जंगली हात्तीको आक्रमणबाट ३ सय ५७ जनाको मृत्यु भएको उनले सुनाए । उनका अनुसार एउटा हात्तीलाई चरिचरन, गस्ती गर्दा माउते, पछुवा र फनैत राख्ने गरिएको हो । माउतेले हात्तीसारको सरसफाइ, हात्ती नुहाउने र चढेर आउजाउ गर्नुपर्छ । पछुवाको काम हात्तीलाई खाना खुवाउने, चरिचरन गर्ने र बाँधेर राख्ने हो । फनैतको काम हात्तीमा बसेर सफारी गर्नु रहेको छ ।
‘पालुवा हात्तीले काम बिगारे नियन्त्रणमा लिन सानो बञ्चरोले कुट्दा हात्तीले बुझ्छ,’ उनले भने, ‘तर जानाजानी कुटे, खाना समयमा नदिए हात्तीले बर्सेनि रिस राख्छ ।’ बर्दिया निकुञ्जको हात्तीसारमा ११ हात्ती रहेका छन् । यसैगरी हात्ती हेरचाह गर्ने ३२ जना कर्मचारी रहेको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले यहाँ करिब १ सय २० वनहात्ती रहेको अनुमान गरेको छ ।
बर्दिया निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले पाल्तु भए पनि हात्ती जंगली जनावर नै भएको बताए । ‘हात्तीको मूल प्रवृत्ति कहिल्यै हराउँदैन,’ उनले भने, ‘विशेष परिस्थितिमा त्यो प्रवृत्ति सक्रिय भइहाल्छ, त्यस्तो बेला जोखिम हुन्छ ।’ चराउन जाँदा हात्तीलाई खुला छाडियो भने त्यसले स्वतन्त्रता महसुस गरेर आफ्नो क्षेत्र विस्तार गर्ने उनले बताए ।
