१६ जना ग्राहकको १ करोड ६५ लाख रुपैयाँ आफ्नो खातामा सार्ने तौलिहवास्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कार्यरत कर्मचारी ऋषभ कार्की पक्राउ
कपिलवस्तु — बैंक खातामा रहेको ग्राहकको ठूलो रकम आफ्नै खातामा ट्रान्सफर गरी हिनामिना गरेको आरोपमा तौलिहवास्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कार्यरत कर्मचारी ऋषभ कार्की पक्राउ परेका छन् ।
विभिन्न मितिमा उनले बैंकिङ प्रणालीभित्र प्रवेश गरी केही ग्राहकका मोबाइल नम्बर परिवर्तन गरेर आफूले प्रयोग गर्ने नम्बर राखी मोबाइल बैंकिङ ट्रान्जेक्सनको सूचना आफैंलाई आउने व्यवस्था मिलाएको आरोप छ । यसरी उनले १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रूपमा रकम स्थानान्तरण गरी हिनामिना गरेको प्रहरीले जनाएको छ। उनले मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गरेका थिए ।
कपिलवस्तु नगरपालिका–३, अदालतटोलका २८ वर्षीय कार्कीलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका–१, पकडीबाट नियन्त्रणमा लिएको हो । प्रारम्भिक विवरणअनुसार उनले १६ जना ग्राहकको रकम आफ्नै खातामा सारेका थिए । उनले दुई वर्षदेखि यस्तो कार्य गर्दै आएको प्रहरीसमक्ष बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।
बैंकमा मेसेन्जरका रूपमा लामो समयदेखि कार्यरत कार्कीले अन्य कर्मचारीको विश्वास जित्दै आएका थिए । सोही क्रममा उनले दुई कर्मचारीका आईडी र पासवर्ड प्रयोग गरी बैंकिङ प्रणालीमा प्रवेश गरेर ग्राहकको रकम अनधिकृत रूपमा आफ्नो खातामा सारेको आरोप छ ।
रकम हिनामिना भएको विषय बैंकको केन्द्रीय कार्यालयले पत्ता लगाएको थियो । एउटै मोबाइल नम्बर १६ जनाको खातामा देखिएपछि शंका लागेर प्रहरीलाई जानकारी गराइएको थियो । बैंक र प्रहरीले घटनाबारे अनुसन्धान थालेपछि कार्कीले आफ्नो मात्र संलग्नता रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
घटनापछि बैंकको केन्द्रीय कार्यालयले दुई कर्मचारीलाई निलम्बन गरेको र शाखा प्रमुखसँग स्पष्टीकरण सोधिएको जनाएको छ । प्रहरीले मोबाइल बैंकिङमा प्रयोग हुने नम्बर तथा बैंक खाता सुरक्षित राख्न र सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
