पालिकाले बन्देज गरेको अवस्थामा पनि लुकिछिपी कमलको जरा निकाल्न सक्ने भन्दै पालिकाले नगर प्रहरीमार्फत निगरानी गरिरहेको जनाएको छ ।
रुकुम पूर्व — अघिल्ला वर्षमा यतिबेला कमलको जरा निकाल्नेको भीड लाग्ने कमलदह यसवर्ष भने सुनसान छ । सिस्ने गाउँपालिकाले जरा निकाल्न बन्देज गरेका कारण दहमा अघिल्ला वर्ष जस्तो चहलपहल नभएको हो ।
पालिकाले गत फागुन १२ मा सार्वजनिक सूचना जारी गरेर कमलको संरक्षणका लागि गाउँपालिकाबाट ठेक्का आह्वान नगर्ने र जरा ननिकाल्ने निर्णय भएको बताएपछि यो वर्ष जरा निकाल्ने कार्य नगरिएको हो ।
सिस्ने गाउँपालिका–५ मा अवस्थित कमलदहबाट जरा निकाल्नका लागि अघिल्ला वर्षमा गाउँपालिकाले ठेक्का आहृवान गर्दै आइरहेकामा यसवर्ष त्यसो नगरिएको पालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । ‘बर्सेनि तालबाट जरा निकाल्दा कमल संरक्षणमा असर पर्नेसक्ने कुरालाई ध्यान दिँदै यस्तो निर्णय गरिएको हो,’ उनले भने ।
यो दहमा रहेको कमलको जरालाई खासगरी अचारका रुपमा प्रयोग गरिन्छ । कतिपयले भने यो जरा बिभिन्न रोगको औषधि समेत हुने विश्वास गर्दै आएका कारण यसको माग निकै हुने गरेको छ । कमलको जरा निकाल्ने सिजन फागुन–चैतमा यहाँ अघिल्ला वर्षमा निकै भीड हुने गरेको थियो ।
पालिकाले बन्देज गरेको अवस्थामा पनि लुकिछिपी कमलको जरा निकाल्न सक्ने भन्दै पालिकाले नगर प्रहरीमार्फत निगरानी गरिरहेको जनाएको छ ।
