सिमेन्ट उद्योगको पहुँचमार्ग कालोपत्र गर्न माग गर्दै आन्दोलन

घोराही-तापा र स्युजा सडक खण्डको सिस्नेखोलामा शुक्रबार भेला भएका स्थानीयहरूले सडक तत्काल कालोपत्र गर्नुपर्ने माग गर्दै टिपर सन्चालनमा रोक लगाए ।

चैत्र १३, २०८२

दुर्गालाल केसी

Protest demanding blacktop of cement industry access road

दाङ — सिमेन्ट उद्योगका चुनढुंगा ढुवानीमार्ग कालोपत्रको माग गर्दै प्रभावित क्षेत्रका नागरिक आन्दोलित भएका छन्। 

घोराही-तापा र स्युजा सडक खण्डको सिस्नेखोलामा शुक्रबार भेला भएका स्थानीयहरूले सडक तत्काल कालोपत्र गर्नुपर्ने माग गर्दै टिपर सन्चालनमा रोक लगाए । सगरमाथा, सोनापुर, सम्राट र अग्नि सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ बोकेर हिँड्ने टिपरहरूले सडक तहसनहस बनाएका छन् ।

नवलपुरदेखि चुनढुंगा खानीसम्म जाने सडक खण्डमा पर्ने डबरी, धाइरेखुट्टी, असारे, सिस्नेखोला, पालुथान, रानिदमार, गोठधारा, कुमाकी, सवारीकोट, छिटनेटा, जस्पुर, छेकबार, अम्लबास, हर्नोक, काउले, जुम्लेपानी, कमिरेचौर, श्रीवारी लगायतका गाउँका बासिन्दा प्रत्यक्ष प्रभावित छन् ।

त्यस्तै स्युजा तर्फका बलाजुरे, धनचौर, दर्मा, पुरुङ, ट्याङट्याङ खोला, कालिमाटी हुँदै स्युजा र खारा क्षेत्रका बस्तीहरूमा पनि यसको असर परेको छ।

सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा पनि सरकार र सम्बन्धित उद्योगहरूले बेवास्ता गरेको स्थानीयको आरोप छ । हिउँदमा धुलो र वर्षामा हिलो र खाल्डाखुल्डीले दैनिक जीवन कष्टकर बनेको भन्दै उनीहरूले तत्काल समाधानको माग गरेका छन्।

असारे टोल विकास संस्थाका अध्यक्ष रामबहादुर पुनले उद्योगको पहुँचमार्ग पूर्ण रूपमा बिग्रिएको र अब स्थानीय जनता चुप लागेर नबस्ने चेतावनी दिए ।

यसअघि भएका सहमति उद्योग र सरोकारवालाले कार्यान्वयन नगरेको उनले गुनासो गरे । पुनका अनुसार टिपरहरूले क्षमताभन्दा बढी चुनढुंगा बोक्ने, तीव्रगतिमा सवारी चलाउने र तोकिएको समयसीमा उल्लंघन गर्ने जस्ता गतिविधि निरन्तर भइरहेका छन् ।

उद्योग र ढुवानीकर्ताले कानुनको धज्जी उडाउँदै जनतालाई दुःख दिने काम गरिरहेको पालुथानका युवा कमल आचार्यले बताए ।

सडकको नियमित मर्मतसम्भार नगर्ने, धुलो नियन्त्रणका लागि पानी नछर्किने, अत्यधिक भार बोकेर सवारी चलाउने जस्ता समस्या समाधान नभए आन्दोलन अझ सशक्त बनाइने स्थानीय नारायणप्रसाद घर्तीले बताए ।

स्थानीयहरूले प्रहरी प्रशासनसँग पनि टिप्परहरूको अनुगमन कडा बनाउन माग गरेका छन्। क्षमताभन्दा बढी भार बोक्ने, तीव्रगतिमा गुड्ने र नियमविपरीत सञ्चालन हुने सवारीमाथि कारबाही गर्न उनीहरूले आग्रह गरेका छन्। स्थानीयका अनुसार उक्त सडक खण्डमा अहिले दैनिक एक सयभन्दा बढी टिपर सञ्चालनमा छन् । धुलोका कारण स्वास्थ्य समस्या बढ्नुका साथै बालबालिका, वृद्धवृद्धा र सर्वसाधारणको स्वास्थ्यसँगै आवतजावतमा समेत कठिनाइ भइरहेको छ ।

आन्दोलनरत स्थानीयहरूले शनिबारदेखि आन्दोलनलाई अझ व्यापक र सशक्त बनाउने बताएका छन्। प्रभावित क्षेत्रका सबै नागरिकलाई सहभागी गराउँदै सडक कालोपत्रे नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully