सराय नाचका साथमा क्लबले औपचारिक कार्यक्रमसहित सांस्कृतिक कार्यक्रम गरेको थियो । जसमा राष्ट्रिय कलाकार प्रकाश दुतराजसहितले प्रस्तुति दिएका थिए ।
What you should know
गुल्मी — चैते दसैंको अवसरमा मालिका गाउँपालिका-४ र ५ को संगम सैरेपोखरामा सराय नाचिएको छ । पश्चिम नेपालमा बडा दसैंको अवसरमा नाचिने सराय नाच न्यू मालिका युवा क्लबको सक्रियतामा चैते दसैंको अवसरमा नाचिएको हो ।
बडा दसैंको टीका तथा जमरा लगाएपछि कोजाग्रत पूर्णिमासम्म शक्तिपीठ तथा ऐतिहासिक गढी तथा किल्लाहरूमा नौमती बाजाको तालमा नाचिने सराय अहिले त्यही स्वरूपमा प्रतिस्पर्धाका रूपमा नचाइएको क्लबका अध्यक्ष लोकेश गिरीले बताए । नौमती बाजासँगै खुकुरी, तरबार, खुँडा, खङ्ग र लठ्ठी हातमा लिएर नचाउँदै घुमाउँदै एकापसमा ठोक्काउँदै गोलो घेरामा नाचिने सराय नाचले वास्ताविक बडादसैंको जस्तै अनुभूति यस दसैंले पनि दिलाइरहेको थियो ।
खासमा सराय नाचको सुरुवात विसं १८१४ मा जितगढी किल्ला बुटवलमा नुवाकोट गढी पाल्पाबाट कर्णेल उजिरसिंह थापाको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेज सेनालाई हराएको खुसीयालीमा त्यसबेला हातहतियारसहित नाचगान गरेपछि भएको इतियासविद् बताउँछन् । साथमा बाइसे चौबिसे राज्यको एकीकरणका क्रममा जित्नेले खुसीयाली मनाउँदा ब्यापक बन्दै गएको इतियासमा भेटिन्छ ।
सराय नाच दसैंको अवसरमा छिमले खेलने, तुरी खेल्ने, गोलो घेरामा नाच्ने, भट्याउने र पट्टा खेल्ने गरिन्छ । तत्कालीन समयमा युद्ध जितेपछि लडाकुहरूले ‘सर (जित) गरी आएँ’ भनेकाले यसैलाई ‘सर आएँ’ भन्ने शब्दलाई सराय वा सराएँ भन्ने रुपमा स्थापति भएको विभिन्न अध्ययनका क्रममा भेटिएको छ । सराय नाचका साथमा क्लबले औपचारिक कार्यक्रमसहित सांस्कृतिक कार्यक्रम गरेको थियो । जसमा राष्ट्रिय कलाकार प्रकाश दुतराजसहितले प्रस्तुति दिएका थिए ।
कार्यक्रम उद्घाटन सत्रमा प्रमुख अतिथि मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले कला र संस्कृतिको संरक्षणका लागि क्लबले निकै राम्रो कार्यक्रम गरेको बताए । उनले सराय नाचको संरक्षण र सांस्कृतिक पक्षबाट मनोरञ्जन दिलाउन क्लबले कार्यक्रम गरेकामा धन्यवाद दिएका थिए ।
गुल्मीको मालिका गाउँपालिका-४ र ५ को संगम स्थल सैरेपोखरामा नाचिएको सराय नाच । तस्बिर : सन्तोष महतारा/कान्तिपुर
