बुधबार गुल्मीको सत्यवती गाउँपालिका-८ भार्सेमा भार्से फोटो ग्यालरी प्रांगणमा भारतीय सेनाका भूतपूर्व कर्नेल एसएस सिंहले सालिक अनावरण गरेका हुन् ।
गुल्मी — बेलायतको सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस (भीसी) बाट सबैभन्दा कम उमेरमा विभूषित कर्नबहादुर रानामगरको सालिक अनावरण गरिएको छ ।
बुधबार गुल्मीको सत्यवती गाउँपालिका-८ भार्सेमा भार्से फोटो ग्यालरी प्रांगणमा भारतीय सेनाका भूतपूर्व कर्नेल एसएस सिंहले सालिक अनावरण गरेका हुन् । गुल्मीको कालीगण्डकी गाउँपालिका-५ फोक्सिङ्ग स्थायी घर भएका रानामगरले सन् १९१९ मा बकिङ्घम प्यालेसमा राजा जर्ज पाँचौँको हातबाट भीसी पदक पाएका थिए ।
गत पुसमा भार्से भूपू संघको अगुवाइमा भार्से फोटो ग्यालरीको प्रांगणमा कर्नबहादुर रानामगरको सालिक स्थापना भएको थियो । मूर्तिकार यमबहादुर थापाले १५ लाख ५० हजार रुपैयाँमा बनाएको सालिकमा तीन सय किलो पित्तल प्रयोग गरिएको छ ।
सन् १८९८ मा जन्मिएका कर्नबहादुर बेलायती सेनामा भर्ती हुनासाथ तेस्रो क्विन अलेक्जेन्द्राज ओन गुरखा राइफल्सको दोस्रो बटालियनमा कार्यरत रहँदा ७५ औँ इन्फेन्ट्री डिभिजन अन्तर्गतको २३२ औँ इन्फेन्ट्री ब्रिगेडसहित प्यालेस्टाइन अभियानमा सहभागी हुनुपरेको थियो । त्यसक्रममा १० अप्रिल १९१८ मा प्यालेस्टाइनको एल केफ्र क्षेत्रमा जर्मन सेनाविरुद्ध भएको युद्धका क्रममा भीषण गोलीबारी र बम प्रहारबीच लुईस गन प्रयोग गरी शत्रुको मेसिनगन तथा आक्रमण दबाउन असाधारण साहस प्रदर्शन गरेका थिए । उक्त लडाइँमा विजयी हात परेका थिए । जून वीरताका लागि उनलाई २१ जुन १९१८ मा लन्डन ग्याजेटमार्फत भिक्टोरिया क्रस प्रदान गर्ने निर्णय भएको थियो । १९ वर्षमा भीसी पदक पाउने कर्नबहादुर नेपालको नाम राख्ने पहिलो व्यक्ति हुन् । पछि प्रथम विश्वयुद्धले छुट्टिएका कारण कर्नबहादुर भारतीय आर्मीतर्फ गाभिएका थिए ।
ब्रिटिश सेनाका भूतपूर्व लेप्टिनेन्ट कुलबहादुर बुढाथोकीले सालिक निर्माणमा अगुवाइ र लागेको खर्च सबै जुटाएका थिए । उनकै अगुवाइमा भार्से फोटो ग्यालरी र सालिक स्थापना सम्भव भएको भार्से भूपू संघका कोषाध्यक्ष नरु बुढाथोकीले बताएका थिए ।
कर्नबहादुरको २५ जुलाई १९७३ मा गुल्मीको लिटुङ भार्सेमा ७४ वर्षको उमेरमा निधन भएको थियो । हालसम्मको इतिहासमा नेपालका १३ जना बेलायती सेनाले भीसी पदक पाएका छन् ।
