एमआरआईलगायत अत्याधुनिक सेवा सुरु । अस्पतालले आगामी शैक्षिक सत्रबाट सीटीईभीटी तथा विश्वविद्यालयका नर्सिङलगायतका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ।
What you should know
दाङ — घोराहीमा चार अर्ब लगानीमा सञ्जिवनी शिक्षण अस्पताल स्थापना भएको छ । घोराही उपमहानगरपालिका–३, वर्गदुवामा स्थापना भएको अस्पतालमा ३ सय शैया रहेका छन् ।
प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार अस्पताल पाँच बिघा क्षेत्रफलमा निर्माण भएको छ । हाल अस्पतालमा ३ सय जनशक्ति कार्यरत रहेको उनले जानकारी दिए । अस्पतालले आगामी शैक्षिक सत्रबाट सीटीईभीटी तथा विश्वविद्यालयका नर्सिङलगायतका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रोकाले बताए ।
तीन वर्षपछि चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उनले बताए । अस्पताल सञ्चालक समितिको अध्यक्षमा खुमाप्रसाद अर्याल छन् । उनको लगानीमा बनेको यो छैटौं अस्पताल हो ।
विभिन्न विशेषज्ञ उपचार सुरु गरिसकेको अस्पताले बुधबारदेखि एमआरआई सेवा प्रारम्भ गरेको छ । जर्मनीको सिमेन्स कम्पनीको १.५ टेस्ला क्षमताको एमआरआई मेसिनमा हिलिएम फ्रि अत्याधुनिक स्क्यान क्षमता भएको अस्पतालका रेडियोलोजी विभाग प्रमुख कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. जेशन केसीले बताए ।
‘यसमा डिप रिजोल्भ भन्ने एआई टेक्नोलोजी प्रयोग हुन्छ, जसका कारण स्क्यान समय छिटो र इमेज गुणस्तर राम्रो बनाउँछ,’ उनले भने,‘यसमा एमआरआई गर्दा अटोमेटेड पोजिसनिङ हुन्छ । यो मेसिन नेपालमा थोरै मात्र छ ।’
अस्पतालमा सोही कम्पनीको १९२ स्लाइस क्षमता भएको सिटी स्क्यान मेसिनबाट पनि सेवा सुरु गरेको उनले बताए । यसमा टिन फिल्टर प्रयोग भएको हुँदा नचाहिने रेडियसन रोकिने र चाहिने रेडियसन मात्र प्रयोग हुने डा. केसीले बताए । ‘मेसिनले कम रेडियसनमा पनि राम्रो इमेज निकाल्छ । यस मेसिनमा एआई प्रविधिको प्रयोग गरी कम रेडियसनमा उच्च गुणस्तरको इमेज निकाल्न सकिन्छ,’ उनले भने,‘डिजिटल एक्सरे, भिडियो एक्सरे र मेमोग्राफ्री पनि उच्च गुणस्तरका छन् ।’
एमआरआई सेवा सुरु भएपछि अब साविक राप्ती र आसपासका जिल्लाका बिरामीहरूले दाङमा नै रेडियालोजीका सम्पूर्ण सेवा लिन सक्ने उनले बताए । अस्पतालले ओपीडीमा जनरल फिजिसियन, हाडजोर्नी तथा नसा, स्त्री तथा प्रसूति, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा यौन, शिशु तथा बालरोग, ईएनटी, डेन्टल, नेत्ररोग तथा फिजियोथेरापी विशेषज्ञ सेवा दिइरहेको मेडिकल डाइरेक्टर कन्सल्टेन्ट फिजिसियन डा.वाचस्पति सुवेदीले बताए ।
यसैगरी क्रिटिकल केयरमा आईसीयू, एनआईसीयु, पीआईसीयू, एसआईसीयू, एचडीयू सञ्चालनमा रहेको र हेमोडायलासिस, क्याथ ल्याव र सीसीयू सेवा छिट्टै सञ्चालन हुने उनले बताए । अस्तालमा आठवटा मोडुलर सहित ११ वटा शल्यक्रिया कक्ष रहेको उनले जानकारी दिए । ‘भर्ना हुनुपर्ने बिरामीका लागि साधारण र डिलक्स वार्ड रहेका छन्,’ उनले भने, ‘अब छिट्टै कार्डियोलोजी, न्युरोलोजी र युरोलोजी विभागका विशेषज्ञ सेवा दिइनेछ ।’
