तीन वर्षसम्म खाग र बाघका दाह्रा नभेटिएपछि पुनः नयाँ शिराबाट अनुसन्धान भइरहेको निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताए ।
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय परिसरबाट गैँडाको खाग र बाघका २५ वटा दाह्रा गायब भएको तीन वर्ष बितिसक्दासमेत घटनाका संलग्न दोषी अझै फेला नपरेपछि पुनः छानबिन समितिले अनुसन्धान सुरू गरेको छ ।
निकुञ्जका सूचना अधिकारी तथा वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले कर्मचारीसँग बयान लिन थालेको छ ।
२०७९ साल असोज ५ गते निकुञ्जको स्टोरमा रहेको सामान बुझबुझारथ गर्ने क्रममा उक्त खाग र दाह्रा नभेटिएपछि असोज १३ गते निकुञ्जको कार्यालयलाई स्टोर शाखाले लिखित जानकारी गराएको थियो । निकुञ्जका अनुसार त्यसबेला ३ वटा खागमध्ये २ वटा र ४५ वटा बाघका दाह्रामध्ये २० वटा मात्रै फेला परेको थियो ।
घटनाको खुलासा भएपछि बर्दिया निकुञ्ज र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले छुट्टाछुट्टै समिति गठन गरेका थिए । समितिले त्यस बेला तत्कालीन सिनियर गेम स्काउट सुभाष चौधरीलाई तीन महिना निलम्बन गरेको थियो । घटनामा ३ जना कर्मचारीलाई जिम्मेवारी पूरा नगरेको भन्दै सचेत गराइएको थियो ।
निकुञ्जले दाह्रा र खाग गायब भएको घटनामा संलग्न दोषीको पहिचान नखुलेपछि सीआईबीलाई पत्र लेखेर अनुसन्धानमा सघाउन पत्राचार गरेको थियो । निकुञ्जका एक अधिकारीले त्यस बेला जिल्लामा प्रहरीलाई चोरीको घटनासम्बन्धी जाहेरी नदिएको बताए । निकुञ्ज प्रशासनले अनुसन्धानका लागि प्रहरीलाई जानकारी नगराउनु त्यही कमजोरी भएको ती अधिकारीले जनाए ।
तीन वर्षसम्म खाग र बाघका दाह्रा नभेटिएपछि पुनः नयाँ शिराबाट अनुसन्धान भइरहेको निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताए । 'घटनामा संलग्न दोषीहरू उम्किने सम्भावना निकै कम छ,' उनले भने, 'छिट्टै घटनामा संलग्न दोषीहरू पक्राउ पर्नेछन् ।' उक्त घटनामा कर्मचारीको संलग्नता नभई खाग र दाह्रा गायब हुन नसक्ने भन्दै निकुञ्ज प्रशासनले अनुसन्धानलाई प्रभावकारी बनाए दोषी चाँडै पक्राउ हुने स्थानीय बताउँछन् ।
