बर्दियामा यातायात कार्यालय नहुँदा समस्या : नगर प्रमुख यादव

बर्दियामा यातायात कार्यालय ल्याउनका लागि जग्गा र भवन उपलब्ध गराउँछौं भनेर पटक–पटक पत्र लेख्दासमेत माथिल्लो निकायले आफ्नो कुरा नसुनेको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवको गुनासो ।

चैत्र ८, २०८२

रामप्रसाद चौहान 

Lack of transport office in Bardiya is a problem: Mayor Yadav

What you should know

बर्दिया — जिल्लामा यातायात कार्यालय नहुँदा यहाँका सर्वसाधारणले सास्ती बेहोर्नु परिरहेको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताएका छन् । 

जिल्लास्थित यातायात कार्यालय नहुँदा चालक अनुमति पत्र बनाउन समस्या भइरहेको भन्दै आन्दोलित अटो चालकहरू आइतबार नगरपालिकाको कार्यालय पुगेपछि यातायात कार्यालय ल्याउन धेरै प्रयास गर्दासमेत माथिल्लो निकायले नसुनेको नगर प्रमुख यादवले बताएका हुन् । 

‘आवश्यक सम्पूर्ण प्रक्रिया पुर्‍याएर अटो चालकलाई अनुमति पत्र दिन सरकारसँग आग्रह गर्दछु,’ नगर प्रमुख यादवले भने, ‘चालक अनुमति पत्र बनाउन, सवारीसाधनको नवीकरण गर्न सर्वसाधारण बाँके धाउनु परिरहेको छ । बर्दियामा यातायात कार्यालय ल्याउनका लागि जग्गा र भवन उपलब्ध गराउँछौं भनेर पटक–पटक पत्र लेख्दासमेत माथिल्लो निकायले हाम्रो कुरा सुनेन । यस जिल्लामा यातायात कार्यालय भएको भए यहाँका सर्वसाधारण अन्य जिल्लामा धाउनुपर्ने स्थिति हुँदैनथ्यो र सहज तरिकाले सेवा लिन पाउँथे ।’

अधिकांश अटो चालकहरूसँग चालक अनुमति पत्र नहुँदा पटक–पटक ट्राफिक प्रहरीको कारबाहीमा परिरहेका थिए । चालक अनुमति पत्र बनाउन सहजीकरण गरिदिनका लागि अटो चालक आइतबार नगरपालिका पुगेका थिए ।

अटो चालहरूलाई सिस्टममा आउन नगर प्रमुख यादवले आग्रह गरे । ‘सुरुमा अटो रिक्सा नगरपालिकामा दर्ता गर्नुपर्छ, त्यसको कुनै शुल्क लाग्दैन,’ नगर प्रमुख यादवले भने, ‘तपाईंहरूको समस्यालाई मध्यनजर गरी चालक अनुमति पत्र बनाउन निःशुल्क अनलाइन फर्म भरेर र अनुमति पत्र बनाउन लाग्ने राजस्वसमेत नगरपालिकाले व्यहोरेर सहजीकरण गर्छ ।’

अटो चालक समस्यामा

अटो चलाएर दैनिक गुजारा चलाइरहेका आफूहरू जस्ता अहिले धेरै मारमा परेको गुलरिया नगरपालिका–३ का ५२ वर्षीय श्यामु  सिंह बन्जाराले बताए । ‘६ जनाको परिवार पाल्न कम्पनीबाट फाइनाइन्समा अटो लिएको छु । दिनमा मुस्किलले चार/पाँच सय कमाइ गर्छु । अटोको मासिक १५ हजार रुपैयाँ किस्ता बुझाउन धौधौ भइरहेको छ । अझै अटोको १० किस्ता चुकाउन बाँकी छ । अनुमति पत्र नहुँदा ट्राफिकले समाए ५ सय ५० जरिवाना तिर्नुपर्छ,’ उनले भने ।

दिनभरि कमाएर परिवार पाल्न मुस्किल भइरहेका बेला दिनहुँ ट्राफिक प्रहरीलाई जरिवाना तिर्न परिरहेको गुलरिया–७ का ६२ वर्षीय शिवराम यादवले बताए । ‘लाइसेन्स बनाउन नेपालगन्ज जानुपर्छ,’ उनले भने, ‘दैनिक कमाएर साँझ–बिहानको छाक टारिरहेको छु । लाइसेन्सका लागि बाँके धाउन खर्चको कुनै जुगाड पनि छैन । कसरी र कहिले लाइसेन्सका लागि फर्म भर्ने भन्ने थाहा हुँदैन । हामीजस्ता गरिबको समस्या बुझेर नगर प्रमुखले लाइसेन्स बनाउन आवश्यक सहयोग गर्ने भनेपछि खुसी लागेको छ ।’

हालसम्म ३६ वटा अटो रिक्सा नगरपालिकामा दर्ता भएको गुलरिया नगरपालिकाका वरिष्ठ लेखा अधिकृत रूप सिंह खत्रीले बताए । नगरमा अटो निःशुल्क दर्ता हुन्छ, तर अटो खरिदको बिल र बिमाको कागजपत्र आवश्यक पर्ने उनले जनाए । सबै मापदण्ड पुर्‍याएर मात्र अटो चलाउनु पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully