महिनाको १५ हजार रुपैयाँ कमाउने सावितराम गोडियाले दुई वर्षमा कमाएर बचत गरेको १ लाख ८० हजार नगद बाकसमा राखेका थिए। घर बनाउनका लागि इँटा खरिद गर्ने तयारीमा रहेका सावितरामको सपना पनि आगोले खरानी बनायो।
What you should know
नेपालगन्ज — बाँकेको डुडुवा–२, रामनगरस्थित गाउँमा एक साताअघि दिउँसो आगलागी हुँदा घरमा कोही थिएनन्। यता स्थानीय भने खेतमा व्यस्त थिए।
घर जल्न थालेपछि स्थानीयले पम्पसेट चलाएर पानीले आगो निभाउने प्रयास गरे पनि सफल भएनन्। नेपालगन्जबाट खबर गरेको आधा घण्टापछि मात्रै दमकल आइपुग्यो। त्यतिन्जेलसम्म सबै घर जलेर नष्ट भइसकेका थिए। केही थान काठ मात्र बाँकी छन्।
उक्त आगलागीबाट गाउँका ५ वटा घर खरानी भए। घरमा राखिएका अनाज, लत्ताकपडासँगै पैसा जलेर नष्ट भए। जायजेथा जलेपछि पीडितको बिचल्ली भएको छ। लाउनलाई लुगा र खानलाई अनाज छैन। बुधबार त्यहाँ पुग्दा घर वरिपरि खरानी थुप्रिएको थियो। जलेका कपडा र अनाज छरिएको थियो। घाँस काट्ने मेसिन काम नलाग्ने भएका छन्। अहिले पीडितहरू त्रिपालमुनि आश्रय लिइरहेका छन्।
आफ्नो घर जल्दा सावितराम गोडिया नेपालगन्जबाट फर्किरहेका थिए। नेपालगन्जमा ट्रान्सपोर्टेसनमा काम गर्ने गोडियाको ५ जनाको परिवार अहिले पालमा बस्दै आएको छ। महिनाको १५ हजार रुपैयाँ कमाउने गोडियाले दुई वर्षमा कमाएर बचत गरेको १ लाख ८० हजार नगद बाकसमा राखेका थिए। घर बनाउनका लागि इँटा खरिद गर्ने तयारीमा रहेका सावितरामको सपना पनि आगोले खरानी बनायो। बाकसमा पैसासँगै राखेका श्रीमतीका गहना पनि जलेर खरानी भए। दुई छोरा र एक छोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्तामा उनी परेका छन्।
‘बच्चाहरूको लाउने एउटा लुगा छैन। जन्मदर्ता, नागरिकता सबै जलेर खरानी भए,’ उनले भने, ‘त्यो घर बनाउँला भनेर बचत गरेको रकम पनि जलेपछि समस्यामा छु।’ अहिले आफन्तले लत्ताकपडा ल्याइदिएका छन्। गाउँकै छिमेकीले खाना दिएका छन्। सावितरामको मात्र होइन, उनको छेउमा रहेको बुवाको घर पनि खरानी भएको छ।
६५ वर्षीय बाबादिन गोडियाको घरमा ५ जनाको परिवार थियो। दुई छोरा, एक छोरी र श्रीमती गरी ५ जना त्यही घरमा जसोतसो बस्दै आएका थिए। आगोले १० मिनेटमै घर खरानी बनायो, सामानसम्म झिक्न पाएनन्। सामान त जल्यो नै, घरमा राखिएको पैसा पनि जल्यो। साइलो छोराको बिहेको तयारीका लागि उनले घरमा डेढ लाख रुपैयाँ राखेका थिए।
‘वैशाखमा छोराको बिहे गर्ने तयारी थियो, सबै सपना चकनाचुर भयो,’ बाबादिनले भने, ‘हामी गरीब मान्छे, खेती किसानी गरेर खान्छौं। अहिले दुःखमाथि दुःख थपियो।’
छिमेकी बाकेलाल यादवको परिवार पनि अहिले त्रिपालमुनि छ। भैंसी बेचेको ९० हजार र छोराले बचत गरेको पैसा गरी डेढ लाख रुपैयाँ घरमा राखेका थिए। ११ जनाको परिवार घरमा बस्दै आएको थियो।
‘तीन दिनअघि मात्र भैंसी बेचेको थिएँ, छोरालाई पैसा लगेर बैंकमा राख भन्नुभएको मानेन,’ उनले भने, ‘छोरा आउन ढिलो गर्यो, एक्कासी आगलागी भएपछि बचत गरेर राखेको पैसा पनि जल्यो।’ बस्नका लागि टिनको भए पनि घर थियो, अहिले त्यो पनि नरहेको उनले बताए।
बाकेलालका भाइ लल्लनको चार जनाको परिवार बस्ने घरमा २ लाख रुपैयाँ राखेका थिए। बचत समूहबाट ऋण झिकेर ल्याएको १ लाख र बचत गरेको १ लाख गरेर २ लाख आगोमा जले। खेती किसानी गरेर बचत गरेको पसिनाको कमाइ आफ्नै अगाडि खरानी भएपछि लल्लन अहिले निराश छन्। ‘म त खेतमा थिएँ। कसरी कहाँबाट आगलागी भयो पत्तो पाइएन,’ उनले भने, ‘१० मिनेटमै घर खरानी भयो।’
स्थानीय ७२ वर्षीया तलका गोडिया रुँदै एक्लै हिँड्ने गरेकी छन्। आफ्नो र श्रीमान्को गरी तीन महिनाको वृद्धभत्ता २४ हजार रुपैयाँ ल्याएर घरमा राखेकी थिइन्। त्यही रकम खरानी भएको उनलाई अझै पनि विश्वास लागेको छैन। उनको आङमा लगाएको कपडा बाहेक केही बचेन।
‘आगलागी हुँदा घाँस काट्न गएकी थिएँ। फर्किँदा त सबै जलेर खरानी भएछ,’ तलका गोडियाले भनिन्, ‘हामीलाई पाल्ने–हेर्ने कोही छैन। बुढाबुढी मात्र छौं, दुःखमाथि दुःख थपियो।’
अहिले गाउँपालिकाले दिएको त्रिपालमुनि ५ परिवारले आश्रय लिइरहेका छन्। नेता/प्रशासन त्यहाँ पुगेका छैनन्। गाउँपालिकाले केही खाद्यान्नको व्यवस्था गरिदिएको छ।
जिल्लामा गर्मीयाम सुरु भएसँगै आगलागीका घटना पनि सुरु भएका छन्। जिल्ला प्रहरीका डीएसपी दीपक पातलीका अनुसार विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक जानकारी आएको छ।
‘घटनाको सबै विवरण संकलन भइसकेको छ,’ उनले भने, ‘पैसा जलेको पीडितको दाबी छ, हामीले अनुसन्धान गरिरहेका छौं।’
