चिटिक्क बनाइँदै डमरु दह

बहुवर्षीय योजनाअन्तर्गत करिब ४ करोड रुपैयाँ लगानी गरेर सुपा खोलाबाट दहमा पानी ल्याइँदैछ । यो दहमा वर्षामा पानी भरिभराउ र हिउँदमा सुख्खा हुने गर्छ । बाह्रै महिना दहमा पानी भरिभराउ राख्न सुपा खोलाबाट पानी ल्याउन लागिएको नगरपालिकाकी उपप्रमुख गीता भाटले बताइन् ।

चैत्र ८, २०८२

वीरेन्द्र केसी

Damru Daha being made neatly

What you should know

अर्घाखाँची — अग्लो अनि समथर भूभागमा चारैतिर बस्तीको बीचमा डमरु दह छ । आकर्षक दहलाई अहिले चिटिक्क बनाइँदै छ । दहछेउ पार्क र वरिपरि रेलिङसहितको पैदल मार्ग निर्माण गरिएको छ । यस मार्गबाट पर्यटकले दहको तस्बिर, भिडियो कैद गर्न सक्छन् । 

टिकटक, रिल्स बनाउन पनि पार्क र पैदल मार्ग प्रयोग गर्छन् । यहाँ आएर तस्बिर, फोटो खिच्ने पर्यटकले दहलाई सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् । जसले पर्यटक तानेको छ । 

शितगंगा नगरपालिकाले संघ र प्रदेश सरकारको सहयोगमा पूर्वाधार निर्माण गरेर दहलाई सुन्दर बनाइरहेको छ । शितगंगा–३ ठाडाको डमरु (ठाडा) दह सन्धिखर्क–गोरुसिंगे सडक खण्डमा पर्छ । त्यसैले यही मार्ग भएर दैनिक आवतजावत गर्ने यात्रुको डमरु दहमा नजर पर्छ ।

बहुवर्षीय योजनाअन्तर्गत करिब ४ करोड रुपैयाँ लगानी गरेर सुपा खोलाबाट दहमा पानी ल्याइँदैछ । यो दहमा वर्षामा पानी भरिभराउ र हिउँदमा सुख्खा हुने गर्छ । बाह्रै महिना दहमा पानी भरिभराउ राख्न सुपा खोलाबाट पानी ल्याउन लागिएको नगरपालिकाकी उपप्रमुख गीता भाटले बताइन् ।

‘दहमा सधैं पानी भरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ,’ उनले भनिन्, ‘पानी संकलन गरेर शितगंगा नगरपालिका ४ र १२ नम्बर वडाका गाउँमा सिँचाइ सुविधा पुर्‍याउने हो ।’ दहले पर्यटक तान्दा यहाँ धेरै रिसोर्ट निर्माण हुने र होमस्टे सञ्चालन गरिने उनले बताइन् । सुपा देउराली दर्शनपछि धार्मिक पर्यटकलाई ठाडामा बास बसाल्ने र गर्मी छल्न पहाड उक्लिने पर्यटकलाई शितगंगामै बस्ने, खाने र घुम्ने वातावरण गराउने योजना रहेको उनले बताइन् । 

दह वरिपरि बस्ने, घुम्ने, रमाउने, तस्बिर, भिडियो खिन्ने र अग्ला ठाउँबाट यस क्षेत्रको भूगोल देखेर पर्यटकले रमाउन सक्ने गरी काम भएको छ । नगरपालिकाका सूचना अधिकारी नुमलाल खनालले २०८३ मंसिरसम्म खोलाको पानी ल्याउने गरी काम अगाडि बढेको बताए । यस वर्ष संघ सरकारले ९० लाख रुपैयाँ बजेट छुट्याएको छ । आगामी वर्ष संघबाट १ करोड १० लाख र नगरबाट २ करोड रुपैयाँको बजेट सुनिश्चितता भएको खनालले बताए । 

‘दह बहुउद्देश्यीय आयोजना हो,’ उनले भने, ‘दहलाई आकर्षक बनाउने, पर्यटक वृद्धि गर्ने, कृषि उत्पादनका लागि यही पानी सिँचाइमा उपयोग गर्ने हो ।’ कृषि उत्पादन र पशुपालनमा प्रचुर सम्भावना रहेको यस क्षेत्रमा पर्याप्त पानी भएपछि तरकारी, खाद्यवाली र पशुपालनका लागि सहज हुनेछ । कपिलवस्तु, रूपन्देहीसहित भारतबाट गर्मी छल्न आउने पर्यटकलाई एक दिन शितगंगाका गाउँमा बसाल्ने, यहीँ उत्पादन भएको खानाका परिकार खुवाउने योजना रहेको उनले सुनाए । 

सुपा खोलाको पानी आएपछि दह भरिभराउ हुँदा आकर्षक हुने, सिँचाइ पुगेपछि उत्पादन वृद्धि हुने, ठाडाका अग्ला ठाउँ र यस क्षेत्रका स्थानीयका घर होमस्टे बन्ने अपेक्षा गरिएको छ । डमरु आकारको दहको उत्तर छेउमा वराह मन्दिरमा भगवान् विष्णुको वराह अवतार प्रकट भएको मानिन्छ ।

डमरु दह प्रकृतिले अनुपम स्वरूप तालमा प्राकृतिक पानीबाट मुखाकृति हेर्न पाइने हुँदा आकर्षक दृश्यहरू हेर्दै पर्यटक रमाइरहने गरेको स्थानीय एवं पूर्ववडाध्यक्ष हेमनाथ भुसालले बताए । सडक छेउमै भएकाले तराईबाट गर्मी छल्न पहाड आएका पर्यटक र अन्य यात्रुले गाडी रोकेरै दहको अवलोकन गर्ने उनले बताए । 

अर्घाखाँची शितगंगा नगरपालिका–३ ठाडामा रहेको डमरु दह । तस्बिर : वीरेन्द्र केसी/कान्तिपुर

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully