जनजीवन सहज र शान्त बनाउन सदरमुकाम तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयमा आइतबार बिहानदेखि सर्वपक्षीय बैठक बसिरहेको हो ।
What you should know
कपिलवस्तु — महाराजगन्ज नगरपालिकाको बर्गदा गाउँमा शनिबार दिउँसो भएको धार्मिक विवादले तनावग्रस्त बनेको तौलिहवा–बहादुरगन्ज हुलाकी सडक खण्डको जनजीवन सामान्य बन्दै गएको छ । सडकमा भाडाका र निजी सवारी साधन चलेका छन् । सर्वसाधारण सहज रूपमा आवतजावत गरिरहेका छन् ।
घटनापछि निमित्त प्रजिअ भविश्वर घिमिरेले सूचना जारी गर्दै शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महराजगन्ज नगरपालिकाको पूर्व बगर्दी पुल, पश्चिम बहादुरगन्ज चोक, उत्तर महाराजगन्ज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका थिए । निषेधाज्ञाकै बीच विवाद भएको ठाउ बर्गदागाउँभन्दा पश्चिम महाराजगन्ज नगरपालिका–६, जिगना चौराहामा विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रदर्शन अनियन्त्रित हुन थालेपछि प्रहरीले गोली चलाएको थियो । हिजोको घटनामा सर्वसाधारण र प्रहरी गरी २३ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक सन्तोष आचार्यले बताए ।
प्रहरीतर्फ प्रहरी निरीक्षकसहित ११ जना तथा सशस्त्र प्रहरीका ६ जना घाइते भएका छन् । प्रदर्शनकारीतर्फ ६ जना घाइते भएका छन् । त्यसमध्ये चार जनालाई गोली लागेको छ । चार जनाको भैरहवामा उपचार भइरहेको छ भने एक जनाको भरतपुरमा उपचार भइरहेको छ । एक जनाको बहादुरगन्जस्थित शिवराज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नौ जनालाई प्रहरीले नियन्त्रण लिएको उपरीक्षक आचार्यले जानकारी दिए । सुरक्षालाई मध्यनजर गरी उक्त निषेधाज्ञा अहिले पनि कायम रहेको प्रजिअ जनार्दन गौतमले बताए ।
जनजीवन सहज र शान्त बनाउन सदरमुकाम तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयमा आइतबार बिहानदेखि सर्वपक्षीय बैठक बसिरहेको छ । सबैलाई संयम भई र शान्ति सुरक्षा कायम राख्न लागि सहयोग गर्न प्रजिअ गौतमले अपिल गरेका छन् ।
