सम्मेलनमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विभिन्न विषयमा अन्तर्क्रिया गरेका थिए ।
दाङ — राप्ती बबई क्याम्पस तुलसीपुरमा दुईदिने राष्ट्रिय अनुसन्धानात्मक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विभिन्न विषयमा अन्तर्क्रिया गरेका थिए ।
सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्यालले गरेका थिए । पहिलो दिन शुक्रबार मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक सीपी रिजालले उच्च शिक्षामा अनुसन्धान र नवप्रवर्तन रणनीतिका विषयमा प्रस्तुति दिएका थिए ।
यसैगरी नीति अनुसन्धान प्रतिष्ठानका निरञ्जन देवकोटाले उच्च शिक्षामा कृत्रिम बुद्धिमत्ताको नैतिक प्रयोगबारे प्रस्तुति गरेको आयोजक समितिका सदस्य चमन धितालले जानकारी दिए ।
महेन्द्र बहुमुखी क्याम्पस घोराहीका प्रमुख नारायण पन्थीले दिगो ऊर्जा तथा सिंचाइ व्यवस्थापनसम्बन्धी विषयमा र काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक सुरेश गौतमले शहरी क्षेत्रमा शिक्षण प्रक्रियामा देखिएका परिवर्तनका विषयमा प्रस्तुति दिएका थिए ।
अन्य सत्रहरूमा व्यवस्थापन, लेखा तथा वित्त, भाषा, मनोविज्ञान, समाजशास्त्र, शिक्षा तथा सूचना प्रविधिसम्बन्धी अनुसन्धानपत्रहरू प्रस्तुत गरिएको क्याम्पस प्रमुख गणेश पार्धेले बताए ।
यस्तै ग्रामीण अर्थतन्त्र, डिजिटल मार्केटिङ, उपभोक्ता व्यवहार, वित्तीय साक्षरता, सामाजिक सञ्जालको प्रभाव, भाषा विकास, शिक्षा प्रणाली तथा सूचना प्रविधिको प्रयोग विषयमा पनि प्रस्तुत गरिएको आयोजक समितिका सहसंयोजक सूर्यप्रसाद शर्माले बताए ।
दोस्रो दिन शनिबार क्यालिफोर्निया स्टेट युनिभर्सिटी अमेरिकाका प्राध्यापक मोहनबहादुर डाँगी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कृष्णचन्द्र शर्मा र नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक सुधनकुमार पौडेलले शिक्षा र अनुसन्धानबारे प्रकाश पारेका थिए ।
गोष्ठीले शिक्षण, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा ज्ञान अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान गर्ने क्याम्पस सन्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीले बताए ।
