वर्षाका कारण दाउन्नेमा दुईतर्फी यातायात अवरुद्ध

लगातारको वर्षाले हिलोमा सवारी फसेको र साना सवारी खाल्टाखुल्टीले चलाउन असहज भएपछि बिहान ११ बजेदेखि दुईतर्फी यातायात अवरुद्ध भएको हो ।

चैत्र ७, २०८२

नवीन पौडेल

Two-way traffic disrupted in Daunne due to rain

परासी —  

वर्षाका कारण शुक्रबारदेखि एकतर्फी भएको पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्डमा अहिले दुईतर्फी  यातायात अवरुद्ध भएको छ ।

हिलोले सवारी सञ्चालनमा कठिनाइ हुँदा सयौं सवारीसाधन दाउन्नेमा जाममा रोकिएका छन्। लगातारको वर्षाले हिलोमा सवारी फसेको र साना सवारी खाल्टाखुल्टीले चलाउन असहज भएपछि बिहान ११ बजेबाट दुईतर्फी नै यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

दाउन्ने बजार क्षेत्र, पैंसट्ठी मोड र दाउन्ने ओरालोमा सवारी सञ्चालन हुन सकेका छैनन् । अहिले यहाँ पानी परिरहेको छ ।

बुटवल नारायणगढ सडक विस्तारअन्तर्गत अहिले दाउन्ने खन्डमा काम भइरहेको छ । 

सडक विभागले शुक्रबार रातिबाट मालवाहक सवारीलाई रातको समयमा सञ्चालनमा रोक लगाएर यात्रुवाहक र अत्यावश्यक सवारी मात्र सञ्चालन गरेको थियो । तर, रातभरको वर्षाले सडकमा पानीको भल बगेर यात्रुवाहक बस पनि चल्न नसकेपछि यात्रु मर्कामा परेका छन् । 

सवारीको लामो जाम हुन नदिन र यात्रुवाहक सवारीलाई प्राथमिकतामा राखेर दाउन्ने खण्ड पार गराउन मालवाहक र ठूला सवारीसाधनलाई पश्चिमतर्फ बर्दघाट र पुर्वतर्फ दुम्किबासमा नै रोकिएको छ ।  

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully