लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको १२ करोड बजेटमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो ।
What you should know
बुटवल — लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले एमआरआई सेवा थप गरेको छ । अस्पतालको ११६ औं स्थापना दिवसको अवसरमा शुक्रबारदेखि सेवा थप भएको हो ।
लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको झण्डै १२ करोड बजेटमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो । मेसिन झण्डै २ महिनाअघि नै जडान भएको थियो । त्यसपछिको व्यवस्थापनका काम सकेर शुक्रबारदेखि सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ईन्द्र ढकालले बताए ।
‘सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा थप गरेका हौं,’ उनले भने, ‘अस्पताललाई विशिष्टीकृत सेवा प्रवाह गर्ने अस्पताल बनाउने अभियान जारी छ ।’
सेवा प्रवाहसँगै गुणस्तरीय र विश्वशनीय बनाउने प्रयास पनि जारीरहेको उनले बताए । एमआरआई मेसिन जडान भएपछि सेवाग्राहीले अब सस्तो र सुलभ ढंगले सेवा लिन पाउने अवसर प्राप्त भएको छ । गोरखपुर वा काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा ओपिडी सेवा लिने बिरामीको संख्या दैनिक १ हजार ५ सय बढी हुन्छन् । १ हजार बढी बिरामी भर्ना भएरै उपचार गर्ने गरेका छन् । तर, अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीलाई सधैं बेडको अभाव हुने गरेको छ ।
अस्पतालले पछिल्लो १ वर्षमा प्रसूति तथा बालरोग भवनमा अत्यधुनिक ४ वटा शल्यक्रिया कक्ष स्थापना, १४ शय्याको पोस्ट अपरेटिभ र ८ शय्याको रिकभरी वार्डसहितको सुविधायुक्त अपरेसन थियटर सञ्चालन, आकस्मिक कक्षमा हुने बिरामीको चापलाई मध्यनजर गर्दै ४५ शय्याको मेडिकल वार्डलाई स्तरोन्नति गरी ९० शय्याको भौतिक संरचना निर्माणलगायतका भौतिक संरचना बिस्तार गरिएको छ ।
बिरामीको सहजताका लागि अनलाइन टिकट प्रणालीको सुरुवात, बिलिङ काउन्टरहरूमा डाइनामिक डिजिटल पेमेन्ट सुविधासहितको छुट्टै डिजिटल पेमेन्ट काउन्टर, प्रयोगशाला जाँचको रिपोर्टका लागि लाइन बस्नुपर्ने बाध्यता अन्त्य, बिरामीको मोबाइलमा एसएमएसमार्फत रिपोर्ट जाने र अटोमेटिक डिस्प्याच मेसिनबाट बिरामी आफौले रिपोर्ट प्रिन्ट गर्न सक्ने अत्याधुनिक व्यवस्थालगायतका सुविधा थप गरिएको मेडिकल सुपरिटेन्डेन्ट ढकालले बताए ।
अस्पतालमा हुने भीड व्यवस्थापनका लागि स्वास्थ्य बिमाका बिरामीका लागि विशेष ध्यान दिँदै ३५ वटा टिकट काउन्टरमार्फत सेवा प्रवाह गर्ने गरिएको छ । १० वटा काउन्टरबाट एकैसाथ टिकटिङ र बिलिङ सुविधा, एमआरआई सुविधा, अत्याधुनिक न्यूरो माइक्रोस्कोपको माध्यमबाट जटिल नसाजन्य शल्यक्रिया तथा आर्थोस्कोपी मेसिनबाट जोर्नीका नसाको पुनर्निर्माण र जोर्नी प्रत्यारोपण सेवा सञ्चालन, आवश्यक उपकरणको अभावमा बन्द रहेका मूत्र प्रणाली र ल्याप्रोस्कोपिक विधिबाट गरिने पित्तथैलीको शल्यक्रिया पुनः सुचारु गरी सेवालाई निरन्तरता, मुत्र प्रणालीमा रहेका पत्थरीको आधुनिक उपचारका लागि थिलिएम लेजर मेसिन जडान गरी सेवालाई थप प्रभावकारी बनाइएको छ ।
अस्पतालले कार्डियोलोजी विभागमा टिएमटी, हल्टर मोनिटरिङ, एबीपीएम जडान तथा इएनटी विभागमा अडियोमेट्री जडान, स्तन क्यान्सर निदानका लागि क्यान्सरको समयमै पहिचान गर्न मेमोग्राफी सेवा तथा छुट्टै ब्रेस्ट क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालका प्रशासन प्रमुख प्रेमबहादुर गौतमले बताए ।
रेडियोलोजी र इण्डोस्कोपीतर्फ अत्याधुनिक ५ सय एमएको डिजिटल एक्सरे मेसिन जडान तथा इण्डोस्कोपी सेवामा पालो पर्खिनु नपर्ने, आकस्मिक समयमा रगतको अभाव हुन नदिन इमर्जेन्सी ब्लक भित्रै छुट्टै ब्लड बैंक स्थापनालगायतका सुधारका काम पनि गरिएको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई लुम्बिनी प्रदेशकै सेवा प्रदान गर्ने अस्पतालको रुपमा स्थापित गर्न प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए । प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको सरकारको दाबी छ ।
‘प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर लैजाने योजना छ । त्यसमा हामीले ध्यान दिएका छौं,’ उनले भने, ‘लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ ।’ प्रदेश सरकारको आर्थिक सहयोगमा १ हजार २ सय शय्याको अस्पताल निर्माणको काम अघि बढेको छ । त्यसमा २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना रहेको मुख्यमन्त्री आचार्यले बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले अस्पतालमा विशिष्टिकृत सेवा थप गर्दै लैजानुपर्नेमा जोड दिए । विशिष्टिकृत सेवाका लागि सरकारले आवश्यक भूमिका खेल्ने भन्दै मन्त्री सारुले सबै तह र क्षमताका सेवाग्राहीले समान अस्तित्व महशुष गर्नेगरी सेवामा लाग्न आग्रह गरे । अस्पताल बिवकास समिति अध्यक्ष अजयमान श्रेष्ठले सीमित स्रोत र साधानका बाबजुद अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए ।
