बुटवल-नारायणगढ सडक विस्तारअन्तर्गत अहिले दाउन्ने खन्डमा काम भैरहेको छ ।
परासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा सडक चिप्लो हुँदा सवारी एकतर्फी भएको छ । हिलोले सवारी संचालनमा कठिनाई हुँदा सयौं सवारी साधन दाउन्नेमा जाममा रोकिएका छ्न् ।
बुटवल-नारायणगढ सडक विस्तारअन्तर्गत अहिले दाउन्ने खन्डमा काम भैरहेको छ । खाल्टाखुल्टी रहेको यो खण्डमा पानी परेपछि सडक चिप्लो हुँदा उकालोमा सवारी उक्लन समस्या भएपछि यातायात एकतर्फी भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङका अनुसार विनयी त्रिवेणी गाउँपालिका-२ घिउखोला र विश्वकर्मा मन्दिर नजिकै समस्याका कारण यातायात एकतर्फी संचालन भइरहेको छ ।
मौसम सफा नभएको र पानी पर्ने सम्भावना अझै भएकाले सवारी कहिले सहज हुन्छ भन्ने अवस्था छैन । सवारीको लामो जाम हुन नदिन र यात्रुबहाक सवारीलाई प्राथमिकतामा राखेर दाउन्ने खण्ड पार गराउन मालबहाक र ठूला सवारी साधन पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्किबासमा नै रोकिएको छ ।
