सिद्धार्थनगरमा घरबाटै फोहर वर्गीकरण गरिने

फोहरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि सिद्धार्थनगर नगरपालिकाले वर्गीकरण गरेर छुट्याएको फोहरमात्र संकलन गर्ने भएको छ ।

चैत्र ५, २०८२

माधव ढुंगाना

Garbage will be segregated from home in Siddharthanagar

What you should know

भैरहवा — नगरमा फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन सिद्धार्थनगरमा प्रत्येक घर तथा व्यवसायिक निकायबाटै अनिवार्य रुपमा फोहरको वर्गीकरण गर्नुपर्ने भएको छ । 

फोहरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि सिद्धार्थनगर नगरपालिकाले वर्गीकरण गरेर छुट्याएको फोहरमात्र संकलन गर्ने भएको छ । वर्गीकरण नगरिएको फोहर सम्बन्धित घर तथा निकायले नै व्यवस्थापन गर्नुपर्ने नियम लागु गरेपछि फोहरको वर्गीकरण अनिवार्य भएको हो । 

सिद्धार्थनगर नगरपालिका क्षेत्रमा आउँदो चैत १७ देखि अनिवार्य रुपमा सबैले फोहरको वर्गीकरण गर्नुपर्ने नियम लागू गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । 
‘नगरमा फोहरको व्यवस्थापन चुनौतीपूर्ण बनेपछि त्यसको दीर्घकालीन समाधानका लागि यो नियम लागू गरिएको हो,’ थापाले भने, ‘चैत १८ देखि वर्गीकरण गरेर नछुट्यायएको फोहर नगरपालिकाले संकलन गर्ने छैन। त्यसखालको फोहर सम्बन्धित घर तथा फोहर उत्पादन गर्ने निकायले नै व्यवस्थापन गर्नुपर्ने छ ।’

फोहरको व्यवस्थापन नगरेर जथाभावी सडक पेटी र सार्वजनिकस्थलमा फ्याक्नेमाथि ५ हजार रुपैयाँदेखि प्रकृति अनुसार जरिवाना गरिने थापाले बताए । 

नगरपालिकाले कुहिने जैविक र नकुहिने अजैविक खालका फोहर अलगअलग छुट्याएर फोहर लिन आउने नगरपालिकाको ट्याक्टरमा संकलन गरिदिन आग्रह गरेको छ ।

लुम्बिनी प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगरमा फोहर व्यवस्थापन प्रभावकारी नहुँदा नगर कुरुप र दुर्गन्धित बन्दै गएको छ । नगरको मुख्य चोक र सडक किनारका पेटीमा जथाभावी फ्याकिने फोहरबाट नगरवासी तथा यात्रु पीडित हुने गरेका छन् । सिद्धार्थनगरमा दैनिक २५ टन भन्दा धेरै फोहर उत्पादन हुने र १ सय २५ जना जनशक्ति दैनिक खटिनु परेको नगरपालिकाले जनाएको छ । 

सिद्धार्थनगर क्षेत्रको फोहर दीर्घकालीन रुपमा व्यवस्थापन गर्न एशियाली विकास बैंकको ३३ करोड रुपैयाँ लागतमा आठ वर्षअघि निर्माण गर्न लागिएको फोहर प्रशोधन केन्द्र विवादका रद्द भएपछि नगरमा फोहर व्यवथापनको समस्या विकराल बनेको छ । 


प्रमुख प्रशासकीय अधिकृत थापाले यो नियम लागू गरिएपछि सिद्धार्थनगरमा फोहर व्यवस्थापनको समस्या समाधान हुने र लागू गरिएको नियम कार्यान्वयन गर्न अनुगमन तथा जरिवाना प्रक्रियालाई कडाइकासाथ लागू गरिने बताए ।  

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully