हार्थोक–बतासे सडक स्तरोन्नति धमाधम

सडक स्तरोन्नतिका लागि १६ करोड ३१ लाख १९ हजारमा एमएस राजेश्वरी–रमानिया–आर एण्ड आर जेभीसँग सम्झौता भएको निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ इन्जिनियर अरुण गुप्ताले बताए।

चैत्र ३, २०८२

माधव अर्याल

Upgrading of the Harthok-Batase road is underway

What you should know

पाल्पा — पाल्पा–रोल्पा सडक अन्तर्गत पाल्पाको हार्थोक–बतासे खण्डमा धमाधम स्तरोन्नतिको काम अघि बढेको छ । करिब ६ किलोमिटर सडक स्तरोन्नति र  कालोपत्र गर्न चालु आर्थिक वर्षमा ठेक्का लागेर कामले गति लिएको हो। 

यातायात पूर्वाधार निर्देशनालय लुम्बिनीका अनुसार २०८४ असोज २६ भित्र काम सक्ने गरी सम्झौता भएको छ। सडक स्तरोन्नतिका लागि १६ करोड ३१ लाख १९ हजारमा एमएस राजेश्वरी–रमानिया–आर एण्ड आर जेभीसँग सम्झौता भएको निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ इन्जिनियर अरुण गुप्ताले बताए । 

निर्माण व्यवसायी, स्थानीय, र निर्देशनालयबीच समन्वयको अभावले स्तरोन्नतिका क्रममा विवाद पनि भइरहेको छ । ‘हामीलाई आइपरेको समस्या भनेको घरटहरा हटाउने हो,’ निर्देशनालयका सूचना अधिकारी वरिष्ठ इन्जिनियर गुप्ताले भने, ‘घरटहरा हटाई साइट क्लियर भइसकेपछि कामले अझ गति लिनेछ ।’ स्थानीय बासिन्दासँग समन्वय कमी भएको गुनासो आएकाले लुम्बिनी प्रदेशसभाका सभामुख तथा यही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य तुलाराम घर्तीको सहभागितामा स्थानीय, गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायीसँग छलफल गरिएको उनले बताए । 

स्थानीयसँग स्थलगत भेटघाट गरी समस्याको समाधान निकाल्दै समयमा सम्पन्न गर्ने निर्देशनालयको योजना रहेको छ । स्तरोन्नतिका क्रममा पर्ने सडक छेउका बासिन्दाले साँघुरा सडक, जग्गा दिनुपर्नेलगायतका विषय पेचिलो बनेको हो । सडक चौडा गर्ने, रिटेनिङ पर्खाल लगाउने, जग निर्माण गर्ने क्रममा लापरवाही भएको स्थानीय दिवाकर अर्यालको गुनासो छ ।

कामको प्रकृति जानकारी दिने होर्डिङ बोर्ड नराखेको, स्थानीयसँग समन्वय नगरेको जस्ता गुनासा स्थानीयले गरेका छन् । पुरानो र साँघुरो सडक भएकाले घरछेउमै रहेका कतिपय घर हटाउन पर्ने हुन्छ । ‘त्यस्ता घर हटाउने, जग्गा मिचिने क्रममा स्थानीय र निर्माण व्यवसायी तथा निर्देशनालय बीच केही असमझदारी बढेको हो,’ स्थानीय सरस्वती श्रेष्ठले भनिन् । 

सडक क्षेत्रमा कतिपयले जग्गा दिन आनाकानी गरेका छन् । केही घरटहरा पनि सडकको दायारामा परेका छन्। ‘पेटी फ्याँक्ने विषय सामान्य होला,’ स्थानीय सुरेश ठकुरीले भने, ‘घरै फ्याँक्ने विषय गम्भीर हो ।’ जनताको घरटहरा, जग्गा जाने विषयलाई समन्वय गरेर मात्र काम गर्न उनको सुझाव छ ।

लुम्बिनी प्रदेश सरकारले ६ वर्षअघि पाल्पाको रामपुरदेखि रोल्पा हुँदै सल्यान कपुरकोट जोड्ने गरी करिब ३ सय किलोमिटर सडक निर्माण गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार प्रदेश गौरवको योजना अन्तर्गत यो सडकलाई राखेर काम अघि बढाएको थियो । 

चालु आर्थिक वर्षमा पाल्पाको हार्थोक–बतासे सडकखण्ड स्तरोन्नति सुरु गरेको लुम्बिनी प्रदेशसभाका सभामुख तथा यही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य तुलाराम घर्तीले बताए । ‘यस क्षेत्रमा ८ वर्षदेखि सडक मर्मतसमेत भएको थिएन,’ उनले भने, ‘स्थानीयको गुनासो धेरै थियो । त्यसैले यसपटक बजेट यही क्षेत्रमा विनियोजन गरेर स्तरोन्नतिको काम अघि बढाएको हो ।’ स्थानीयसँग आइपरेका समस्यालाई समाधान गर्दै समयमै सडक स्तरोन्नति सक्नेगरी काम गर्न सहजीकरण गरिने उनले बताए । 

करिब ६ किलोमिटर सडक डिविएसटी डबल लेन कालोपत्र गर्नेगरी यातायात पूर्वाधार निर्देशनालय लुम्बिनी प्रदेशमार्फत् काम अघि बढेको उनले बताए । रिब्दीकोट गाउँपालिकाभित्र पर्ने सडकमा विवाद आउन नदिन र समयमा काम गर्ने वातावरण निर्माण गर्न पहल गर्ने पालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।

सडक निर्माण गर्न करिब १६ करोड ३१ लाखमा सम्झौता भए पनि चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले हार्थोक–छहरा खण्डका लागि ५ करोड ५ लाख बजेट विनियोजन गरेको छ । सडकले लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू जोड्दै कर्णाली प्रदेशसम्म यातायात पहुँच विस्तार गर्नेछ । १० वर्षभित्र काम सक्ने गरी ६ वर्षअघि प्रदेश गौरवको योजना सुरु भए पनि प्रदेशमा बजेट अभाव भएकाले अधिकांश भागमा काम हुन बाँकी रहेको निर्देशनालयले जनाएको छ । यो सडकले पाल्पाबाहेक अर्घाखाँची, प्यूठान, रोल्पा र सल्यानका बासिन्दालाई लाभ पुग्नेछ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully