विशेषज्ञ चिकित्सक र आईसीयूलगायत सुविधाबाट वञ्चित बिरामी अन्यत्रै रिफर हुने गरेका छन् ।
What you should know
बर्दिया —
बर्दिया अस्पतालमा कोभिडको समयमा निर्माण गरिएको सुविधासम्पन्न भवनमा अझै आईसीयू सेवा सञ्चालनमा आउन सकेको छैन । विशेषज्ञ चिकित्सकको अभावमा आईसीयू सञ्चालन हुन नसकेको हो ।
अस्पतालमा १० विशिषज्ञ चिकित्सक र ४ मेडिकल अधिकृतको दरबन्दी छ । तर यहाँ विशेषज्ञ चिकित्सक एक जना पनि छैनन् । काजमा २ जना स्थायी विशेषज्ञ चिकित्सक छन् । मुख्यत: स्त्री रोग विशेषज्ञ, हातजोर्नी, नसासम्बन्धी, एनेस्थेसियोलोजिस्ट, फिजिसियनलगायत स्थायी जनशक्ति अभाव रहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा सुभाष पाण्डेयले बताए ।
बाहिरबाट हेर्दा सबै भौतिक सुविधासम्पन्न अस्पताल जस्तो लागे पनि चिकित्सक, आईसीयू लगायत सुविधाबाट वञ्चित बिरामी अधिकांश अन्य ठाउँमा रिफर हुने गरेका छन् । गरिब, निम्न आय भएका बिरामी भने आर्थिक अवस्थाका कारण बाहिर जाने अवस्था छ । 'यसरी बिरामीले अकालमा ज्यान गुमाउनुपरेको छ,' स्थानीय समाजसेवी सुशील लामिछानेले भने, 'निर्वाचनका समय चिकित्सक दरबन्दीलगायत आईसीयूको व्यवस्था गर्ने नेताहरु बताउँछन्, चुनाव जितेपछि वास्ता गर्दैनन् ।'
सामान्यदेखि गम्भीर खालका करिब ५० प्रतिशत बिरामी यहाँबाट रेफर हुने गरेका छन् । भौतिक सुविधा भए पनि प्रदेश र केन्द्र सरकारको हेर्ने दृष्टिकोण फरक भएका कारण आईसीयूका लागि जनशक्ति र दरबन्दीअनुसार चिकित्सक नपठाउँदा बिरामीले सास्ती पाएको बर्दिया अस्पताल विकास समितिका पूर्वअध्यक्ष अंगतमान श्रेष्ठले बताए । अस्पतालमा ज्येष्ठ नागरिकका लागि छुट्टै औषधि लिने काउन्टरको व्यवस्था छैन । अशक्तहरु लाइन लागेर उपचार गर्न बाध्य रहेको स्थानीयले गुनासो पोखेका छन् ।
आईसीयू सञ्चालन नहुँदा यहाँका बिरामी बाध्य भएर बाँके जिल्ला पुग्न परेको गुनासो पोखेका छन् । बाँके पुग्न यहाँबाट १ घण्टा बढी समय लाग्छ ।
गम्भीर खालका बिरामी समयमा बाँके पुग्न नसक्दा ज्यान जाने गरेको मधुवन नगरपालिका-८ का भोजराज लम्सालले बताए । 'सरकारको लापरबाहीले जनशक्ति पठाउन नसक्दा आईसीयूका उपकरण, शय्या अलपत्र परेको छ, तत्काल आवश्यक जनशक्ति पठाएर आईसीयू सञ्चालन गर्न जरुरी छ,' उनले भने ।
तीन वर्षअघि तयार गरिएको दुईवटा भवनमा २५ शय्यासहित उपकरण राखिएको छ । सञ्चालनमा नआएपछि आईसीयू कक्ष अस्तव्यस्त भएको छ । यस्तै अवस्था रह्यो भने उपकरणसमेत काम नलाग्ने स्वास्थ्यकर्मी बताउँछन् । गुलरियाका ज्येष्ठ नागरिक डिल्ली अर्यालले जिल्ला अस्पताल अशक्त बिरामीका लागि चुस्त नभएकाले सुधार हुन जरुरी रहेको बताए ।
१ करोडभन्दा बढीको लागतमा आईसीयू कक्ष निर्माण गरिएको हो ।
