अनुदानमा पाएको काँक्राको बीउ नउम्रिँदा तिनाउका किसान मारमा

पालिकाबाट पाएको बीउ नउम्रिएपछि तिनाउका किसान बेलामा काँक्रा बेच्न नपाएको गुनासो गरिरहेका छन् ।

चैत्र १, २०८२

माधव अर्याल

Tinau farmers suffer as subsidized cucumber seeds fail to germinate

What you should know

पाल्पा — अघिल्ला वर्ष काँक्रा बजार लैजान भ्याइनभ्याइ हुने  तिनाउ गाउँपालिका–२ दोभान बोटेगाउँकी मनकुमारी राना यतिबेला तरकारी बारीमै व्यस्त छिन् । गत वर्ष फागुन तेस्रो साताबाट भक्तपुरे लोकल जातको काँक्रा बिक्री थालेकी उनी यस वर्ष चैत दोस्रो सातासम्म पनि बेच्न नपाउने चिन्तामा छिन् ।

पालिकाबाट अनुदानमा काँक्राको बीउ पाउने आश गर्दागर्दै एक महिना ढिलाइ भएको उनको गुनासो छ । ‘अघिल्ला वर्ष यतिबेला काँक्रा बिक्री भइसकेको थियो, यस वर्ष गाउँपालिकाको अनुदानमा बीउ पाउने भन्दाभन्दै अहिले बिक्री गर्न ढिला भइसक्यो,’ उनले भनिन् । फागुन अन्तिम साता काँक्राले बजार भाउ राम्रो पाउने गर्छ । उनका अनुसार भक्तपुरे लोकल काँक्रा ८० रुपैयाँ किलो थोकमै बिक्री गर्न सकिन्थ्यो । ‘अब हाम्रो काँक्रा बजारमा लैजाँदा ५०/६० रुपैयाँ किलोमा भाउ झरिसक्ने भयो,’ उनले भनिन् । बोटेगाउँकै भरत थापाले दुईपटक काँक्राको ब्याड लगाउँदा उमार शक्ति नभएको बीउ परेकामा अहिले ठूलो मर्का परेको बताए । 

यस वर्ष तिनाउ गाउँपालिकामा कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत संघीय विशेष अनुदान कार्यक्रममा कृषक समूहमार्फत फारम भरेका थिए । गाउँका सबै किसान आबद्ध देवीस्थान कृषक समूहमार्फत बीउबिजनका लागि फारम भरेकाले अनुदानको बीउ आउनेमा ढुक्क थिए । तर उमार शक्ति नभएको बीउ पाएपछि अहिले किसान चिन्तित छन् । पहिलो पटक सप्लायर्सले वितरण गरेको १० पोका बीउ अनुदानमा पाएका थापाले राखेको व्याडमा १ प्रतिशत पनि उमार शक्ति भएन । काँक्राको बीउ ७ देखि ८ दिनमा उम्रने उनले बताए । 

बोटेगाउँमा ४५ जना बढी किसानको समूह रहेको छ । ‘१० ग्रामका १० पोका बीउ पाएको थिए,’ उनले भने, ‘पहिलो पटक पाएको उम्रिएन । गाउँपालिकामा पुगेर गुनासो गरेपछि पुनः अर्को बीउ दिइयो । पछिल्लो पटक दिएको पनि उमारशक्ति १५ देखि २० प्रतिशत थियो ।’ उनका अनुसार बीउको प्याकको लेवलमा बाहिर काक्रोको स्टिकर र भित्र काउलीको राखिएको थियो । बाहिर एउटा चित्र, भित्र अर्को भएका प्याकमा काक्राको बीउ आएको उनले बताए ।   

पहिलो पटक कालीगण्डकी सिड र दोस्रो पटक राप्ती सिडको बीउ आफुहरुले पाएको किसान थापाले बताए । ‘दुवै पटक दिएका बीउ नउम्रिएपछि गाउँपालिकामा गुनासो गर्न गयौं,’ उनले भने, ‘तीन दिनभित्र नख्खु सिडको बीउ ल्याएर दिन्छु भनेका थिए । ७ दिन हुन लाग्यो अझैसम्म पाइएको छैन ।’

पहिलो पटक पाएको अनुदानको बीउ नउम्रिएपछि आफैंले बजारबाट किनेर ल्याएर लगाएका काक्राका बोटमा बल्ल फूल लाग्न थालेको थापाले बताए । गाउँपालिकाले दिएको बीउको आशमा बसेको भए अहिलेसम्म खेत बाँझै हुने उनले बताए । 

संघीय विशेष अनुदान अन्तर्गत १८ लाख ८१ हजारमा विभिन्न सामानसहित बीउबिजन सप्लाईका लागि टेण्डर गरेर काक्राको बीउ पनि मागेको थियो । सोही टेण्डर गर्दासमेत ढिलाई भएको तिनाउ कृषि शाखा प्रमुख हेमन्त शर्माले बताए । उनका अनुसार पहिलो पटक नपरेको र दोस्रो पटक टेण्डर गर्दा दर्शन ग्रुप्स प्रालि नेपालगञ्ज–१८ बाँकेसँग सम्झौता भई तोकिएको स्पिेसिफिकेसन अनुसार बीउबिजन उपलब्ध गराएको थियो । 

किसानका अनुसार पालिकाले सप्लाई गर्दा पहिला नै ढिलाई भएको र पुनः दुई पटक बीउ नउम्रिँदा थप मर्का परेको हो । ‘हामीले पहिलो पटक पाएको बीउ उम्रिएको भए पनि अहिले मर्कामा पर्ने थिएनौं,’ किसान गीता थापाले भनिन्, ‘बीउको फोटो हेर्दा धेरै राम्रो थियो । तर उम्रिनै सकेन । हामीलाई एक महिना ढिला भयो ।’

कृषि प्राविधिकका अनुसार भक्तपुर लोकल काक्रा अधिक गर्मी हुन थालेपछि फल लाग्ने कम हुन्छ । उच्च पहाडमा भने असारसम्म नै फल निकाल्न सकिन्छ । यहाँका किसानले वर्षायाममा धान लगाउने गर्छन् । अन्य मौसममा आलु, काक्रा, गोलभेंडा, घिरौला, फर्सी (जुकुने) बोडी, करेला, लगायतका तरकारी लगाउने गर्छन् । 

बुटवल बजारनजिक भएकाले यहाँ वर्षौंदेखि तरकारी खेती गर्दै आएका छन् । व्यवसायिक खेती गर्न थालेको भने १३ वर्ष भएको देवीस्थान कृषक समूहका अध्यक्ष सूर्यबहादुर बगालेले बताए । उनका अनुसार गाउँमा बोटेगाउँ कृषि सहकारीसमेत रहेको छ । अघिल्लो वर्ष काँक्राबाट मात्र एक करोड बढी गाउँमा आम्दानी भित्रिएको थियो । ‘यसवर्ष अझ धेरै किसानले काक्रा लगाउने इच्छा जाहेर गर्नुभएको थियो,’ उनले भने, ‘समयमा बीउ नपाएपछि किसान चिन्तित छन् ।’ गाउँमा झण्डै २ सय रोपनीमा काक्रा खेती हुने गरेको छ। यहाँ तरकारी खेती गरेर ५० हजारदेखि ७ लाखसम्म कमाउने किसानको संख्या धेरै छ। 

समूह, सहकारी गठन गरेर किसान एकजुट भएपछि कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना तरकारी जोनबाट सहयोग पाएको उनले बताए । यही समूहमा तीन वर्षअघि गाउँपालिकाले एकीकृत शत्रुजीव व्यवस्थापन (आईपिएम) कृषक पाठशाला संचालन गरेको अध्यक्ष बगालेले बताए । ‘यसपटक बीउ तथा अन्य सामान अनुदानमा पाउने अवसर जुटेको थियो,’ उनले भने, ‘तर बीउ सप्लाई राम्रो भएन । अन्य सामग्री पनि सोंचेजस्तो छैन ।’ स्प्रेयरहरुसमेत गुणस्तरीय नभएको किसानको गुनासो छ । जैविक मल भने प्रयोगशालामा पठाएकाले गुणस्तरहीन नभएको किसानले बताए ।

तिनाउ गाउँपालिका अन्तर्गत जनचेतना कृषक समूह सत्यवती, अपुने कृषि तथा पशुपन्छी फार्म सुकेताल, देवीस्थान कृषक समूह दोभान, बगाले कृषि तथा पशुपालन दोभान, रिङसिङ् लेक सामुदायिक विकास कृषि सहकारी कचल, कोलडाँडा महिला कृषि सहकारी, कचल कृषि सहकारी, तिनाउ साना कृषि सहकारीलगायतलाई बीउबिजन तथा कृषि सामग्री सहयोग गर्नेगरी टेण्डर भएको हो ।  गाउँपालिका कृषि शाखाका प्रमुख हेमन्त शर्माका अनुसार चालु आर्थिक वर्षमा तिनाउका विभिन्न वडामा १ करोड ६४ लाखको कार्यक्रम संघीय विशेष अनुदान अन्तर्गत खर्च गर्नुपर्ने छ । 

सप्लायर्सबाट उपलब्ध बीउको गुणस्तरबारे गुनासो आएपछि किसानले जानकारी गराएलगत्तैसम्बन्धित आपूर्तिकर्तालाई झिकाइ सम्बन्धित कृषक, कर्मचारीसमेत बसेर संयुक्त छलफल गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए । उनका अनुसार तोकिएको मापदण्डअनुरूप कृषकलाई चित्त बुझ्ने गरी कृषि सामग्री उपलब्ध गराउन सम्बन्धित आपूर्तिकर्ताले प्रतिबद्धता व्यक्त गरेका छन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully