बाँसको अस्थायी पुल कुर्न बासमती मल्लाह दिनभर घाटमै बस्छिन् । बाटो हिँड्नेले गच्छे अनुसार ५, १०, २० रुपैयाँसम्म 'मल्लाही' तिर्छन् । टाढाकाले नगदमै केही रकम दिए पनि स्थानीयको हकमा भने धान, चामल, गहुँलगायतको जिन्सी (जिउका) लिने गरेको बताइन् ।
What you should know
भैरहवा (रुपन्देही) — रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका बासिन्दा अझै पनि जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको डुंगा र बाँसको अस्थायी पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ भभइका स्थानीय कोइल लोधका अनुसार नदीको वारि भटौलिया र पारि भभइपर्छ । अहिले दुबे थुम्हवाका एक स्थानीय मल्लाहले बाँसको अस्थायी पुल बनाएर मानिसलाई नदी पार गराइरहेका छन् ।
'उहाँले धेरै दुखजिलो गरेर पुल बनाउनुहुन्छ । यसले उहाँको रोजीरोटी पनि चलेको छ र हामीलाई पनि आउँजाउ गर्न सजिलो भएको छ,' उनले भने, 'तर पक्की पुल नहुँदा जहिले पनि जोखिम हुन्छ ।'
उनका अनुसार यो बाटो अमहवादेखि बन्जरी चोकसम्म जोडिने महत्वपूर्ण मार्ग हो । मर्चवारबाट सिधैं कक्रहवा, लुम्बिनीहुँदै नेपाल–भारत सीमासम्म पुग्नका लागि पनि यही बाटो प्रयोग हुने भएकाले यहाँ पुल निर्माण अत्यन्त आवश्यक रहेको स्थानीयको माग छ ।
भभइकै अर्का स्थानीय धर्मेन्द्र लोधले पुल नहुँदा वर्षायाममा समस्या झन् बढ्ने बताए । अहिले नदीमाथि बाँसको अस्थायी पुल बनाइए पनि वर्षा सुरु भएपछि त्यो पनि प्रयोग गर्न नसकिने अवस्था हुने गरेको उनको भनाइ छ ।
'अहिले त अलिअलि सुविधा छ, तर वर्षा लागेपछि हामी पानीमा हेलिएर हिँड्नुपर्छ,' उनले भने, 'यदि यहाँ पक्की पुल भइदिएको भए वर्षातमा पनि सहज रुपमा आवतजावत गर्न सकिन्थ्यो । पुल नहुँदा कहिले अजमा, दुईमुहान त कहिले बर्डर हुँदै घुमेर जानुपर्छ ।'
स्थानीय कुमार लोधका अनुसार नदीको दुवैतर्फ बसोबास गर्ने किसानको खेतीपाती पनि नदीपारि भएकाले आवतजावत झन् कठिन बनेको छ । 'यस पारिका मानिसहरुको खेत उता छ भने उता बस्नेको खेत यता छ,' उनले भने, 'बाढी आउँदा त कोही पनि आउजाउ गर्न सक्दैनन् । त्यसैले यहाँ पक्की पुल अत्यन्त आवश्यक छ ।'
स्थानीयको सहयोगमा नदीमाथि बाँसको अस्थायी पुल बनाउने काम एक मल्लाह परिवारले गर्दै आएको छ । पुल निर्माणका लागि उनीहरूले झण्डै एक महिनाअघि नै बाँस काटेर जम्मा गर्ने र करिब १५ दिन लगाएर पुल तयार गर्ने गर्छन् ।
तयार भएको पुल कुर्न बासमती मल्लाह दिनभरि घाटमै बस्छिन् । परिवारका तीन जनाले मिलेर पुल बनाइएको बासमतीले बताइन् । उनले दिनमा १०० देखि २०० रुपैयाँसम्म आम्दानी हुने गरेको बताइन् । बाटो हिँड्नेले गच्छे अनुसार ५, १० वा २० रुपैयाँसम्म 'मल्लाही' तिर्छन् । 'यही घाटको आम्दानीबाट नून–तेल र घरखर्च चल्छ,' बासमतीले भनिन्, 'हामीसँग आफ्नै खेतीपाती छैन । यही घाट हाम्रो मुख्य आम्दानीको स्रोत हो ।' उनले टाढाकाले नगदमै केही रकम दिए पनि स्थानीयको हकमा भने धान, चामल, गहुँलगायतको जिन्सी (जिउका) लिने गरेको बताइन् । जिउका बापत चारदेखि १० पाथीसम्म प्रतिघर अन्न पाउने गरेको उनको भनाइ छ ।
वरपरका १०–१२ गाउँका करिब १ हजार घरधुरीका मानिस यही बाटो प्रयोग गर्ने भएकाले यहाँ पक्की पुल निर्माण गर्न स्थानीयले वर्षौंदेखि सरकारसँग माग गर्दै आएका छन् । स्थानीयका अनुसार बाँसको पुलले अहिलेसम्म यात्रालाई सम्भव बनाएको भए पनि स्थायी समाधानका लागि अब पक्की पुल निर्माण अपरिहार्य भएको छ ।
