सडक मानव आश्रित सेवा घरलाई विद्यार्थीहरुको सहयोग

घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेजमा बीबीए तेस्रो सेमेष्टर अध्ययनरत डायमण्ड ग्रुपका विद्यार्थीहरुले परियोजना कार्यअन्तर्गत गरेको व्यापारबाट रकम बचत गरी सहयोग गरेका हुन् ।

फाल्गुन २७, २०८२

दुर्गालाल केसी

Students support the street shelter

दाङ — घोराही उपमहानगरपालिका–१०, नारायणपुरस्थित सडक मानव आश्रित सेवा घरलाई विद्यार्थीहरुले सहयोग गरेका छन् । 

घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेजमा बीबीए तेस्रो सेमेष्टर अध्ययनरत डायमण्ड ग्रुपका विद्यार्थीहरुले परियोजना कार्यअन्तर्गत गरेको व्यापारबाट रकम बचत गरी सहयोग गरेका हुन् । मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा ५० बढी सडक आश्रित मानवहरुलाई उद्धार गरी राखिएको छ । 

नेपाली मात्रको मुठीदानले सञ्चालन भैरहेको सेवा घरमा आश्रितलाई सहज होस् भनेर सहयोग गरेको डायमण्ड ग्रुपका संयोजक सजना बिकले बताइन् । पढाइका क्रममा गरिएको परियोजना कार्यअन्तर्गत मेला र सडकमा विभिन्न सामान बेचेर उनीहरुले बचत गरेका थिए । 

मानवीय भावना र नागरिकको कर्तव्य सम्झेर बचतबाट सामाजिक सेवा गरेको उनले जानकारी दिइन् । सेवा घरलाई १५ हजार रुपैयाँबराबरको खाद्यान्न, सरसफाइलगायतका अत्यावश्यक सामानहरु सहयोग गरेको उनले बताइन् ।

मानव कल्याण समाजले सडकमा अलपत्र मानिसहरुलाई उद्धार गरी २०७५ सालदेखि आश्रय दिन थालेको हो । देशभर यस्ता ६ वटा सेवा घर छन् । 

दाङका साथै काठमाडौंको पशुपति क्षेत्र, भक्तपुरको झौखेल, काभ्रेको धुलिखेल, पनौती र बाराको निजगढमा पनि सेवा घर छन् । जसमा ५ सयभन्दा बढीले सेवा लिइरहेका छन् । 

सडकबाट उद्धार भएकामध्ये हालसम्म १ हजार ५ सय बढीलाई परिवारमा पुनर्मिलन गराइएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully