२०८२ को प्रतिनिधिसभा निर्वाचनमा बाँकेमा १३ हजार ४४२ मत बदर ।
नेपालगन्ज — बाँकेमा दुई लाख २१ हजार ३०९ कूल मत खसेकोमा १३ हजार ४४२ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा जिल्लाको निर्वाचन क्षेत्र नं १, २ र ३ मा ती मत बदर भएको हो ।
तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा बदर मत रहेको छ भने सबैभन्दा कम निर्वाचन क्षेत्र नं ३ मा बदर मत रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार बाँकेको निर्वाचन क्षेत्र नं १ मा कूल खसेको ७४ हजार ९९२ मध्ये चार हजार ८५, निर्वाचन क्षेत्र नं २ मा कूल खसेको ७२ हजार सात मध्ये पाँच हजार ३०६ र निर्वाचन क्षेत्र नं ३ मा कूल खसेको ७४ हजार ३१० मध्ये चार हजार ५१ मत बदर भएको छ ।
‘मतदाता शिक्षा सञ्चालन भए पनि एउटै मतपत्रमा दुई वटा छाप लगाएको र ल्याप्चे समेत हानेको पाइयो,’ जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख शाहीले भने, ‘त्यसबाहेक चिह्नमाथि छाप लगाएको, मत माग्न आएका सबैको चिह्नमा छाप लगाएको र समानुपातिकतर्फ सबैमा छाप लगाएको पाइएको छ ।’
जिल्लामा तीन लाख ५० हजार तीन सय ७१ मतदाता भएकामा दुई लाख २१ हजार ३०९ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । बाँकेमा २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १५ हजार ३३५ मत बदर भएको थियो ।
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन् । यीमध्ये एक लाख ७८ हजार १३९ पुरुष, एक लाख ७२ हजार २२३ महिला र नौ जना अन्य मतदाता रहेका छन् ।
