रोल्पामा समानुपातिक मतगणना सकियो,  नेकपा पहिलो र रास्वपा दोस्रो 

समानुपातिक मत परिणाम अनुसार दोस्रो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी छ। रास्वपालाई १३ हजार ६ सय ३८ मत प्राप्त भएको हो।

फाल्गुन २५, २०८२

काशीराम डाँगी

Proportional vote counting completed in Rolpa, NCP first and RSVP second

रोल्पा — रोल्पाको समानुपातिकतर्फको अन्तिम मतगणना सकिएको छ। जस अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रथम स्थान प्राप्त गरेको छ। समानुपातिक निर्वाचनमा नेकपालाई २५ हजार ६२ मत प्राप्त भएको हो।

समानुपातिक मत परिणाम अनुसार दोस्रो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी छ। रास्वपालाई १३ हजार ६ सय ३८ मत प्राप्त भएको हो। तेस्रोमा रहेको कांग्रेसलाई ११ हजार ४ सय ९९ र चौथोमा पुगेको एमालेलाई १० हजार ९ सय मत समानुपातिक तर्फ प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले जनाएको छ।

प्रत्यक्ष निर्वाचनतर्फ रास्वपाका उम्मेदवारलाई कांग्रेसका उम्मेदवारले पछि पारेका थिए। तर समानुपातिक तर्फ कंग्रेसलाई पछि पारेर रास्वपा दोस्रो हुन पुगेको छ।

यसैगरी नेकपा (माओवादी) लाई समानुपातिकमा २ हजार ६ सय १५ मत प्राप्त भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ८ सय ८६, श्रम संस्कृति पार्टीलाई ७ सय ८८ मत प्राप्त भएको कार्यालयले जनाएको छ। 

जनता लोकतान्त्रिक पार्टी नेपाललाई सबैभन्दा कम ३ मत मात्रै खसेको छ। समानुपातिक तर्फका दलमध्ये रोल्पामा ५७ दललाई मत प्राप्त भएको हो। रोल्पामा प्रत्यक्ष निर्वाचनमा १०वटा दलका उम्मेदवार चुनावी मैदानमा भएपनि समानुपातिक तर्फ चर्चा र गठन न गरिएका दललाई समेत मत मिलेको हो।

समानुपातिक निर्वाचनको मतगणना आइतबार राति सम्पन्न भएको हो। रोल्पामा समानुपातिक निर्वाचनतर्फ ७० हजार १ सय ५४ मत खसेकोमा  २ हजार ५ सय ७८ मत बदर भयो। समानुपातिक निर्वाचनमा खसेको मत प्रत्यक्ष तर्फको निर्वाचनको तुलनामा कम बदर भएको हो। 

प्रत्यक्ष निर्वाचनबाट मुख्य प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा सुदन कुमार वलीलाई पछि पार्दै नेकपाका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन १५ हजार ४५२ मतान्तरसहित निर्वाचित भएका थिए। पुनले २७ हजार ४६० मत ल्याए भने वलीले १२ हजार ८ मत ल्याएका थिए।

समग्रमा जिल्लामा शान्तिपूर्ण एवं लोकतान्त्रिक पद्धतिमा निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले बताए । उनले निर्वाचनमा भाग लिने मतदाता, उम्मेदवार, दलका नेता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी लगायत सबैलाई धन्यवाद दिएका छन्।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully