रुकुम पूर्वमा निर्वाचन प्रहरी असन्तुष्ट

सम्झौताविपरीत काममा लगाएको, पोसाक भत्तामा गडबडी गरेको उनीहरुको आरोप छ ।

फाल्गुन २२, २०८२

महेश केसी

Election police dissatisfied in Rukum East

रुकुम पूर्व — रुकुम पूर्वमा निर्वाचन प्रहरीले आफूहरु ठगिएको भन्दै विरोध जनाएका छन् । सम्झौताविपरीत काममा लगाएको, आफ्ना मान्छेलाई नाम मात्रको नियुक्ति दिएको र पोसाकमा गडबडी गरेको उनीहरुको आरोप छ । 

जिल्ला प्रहरी कार्यालयको गेटमा भेला भएर विरोध जनाइरहेका निर्वाचन प्रहरीले डीएसपीले ३ जनालाई आफ्नै मर्जीमा नियुक्त गरी तालिम र ड्युटीमा नलगाएको र केही निर्वाचन प्रहरीलाई सम्झौताविपरीत कार्यालयको भवन निर्माणको काममा समेत लगाएको बताएका छन् ।

निर्वाचन प्रहरी एमबी विकले निर्वाचन तालिमका बेला कार्यालयको छेउमा रहेको ड्युटी पोस्ट निर्माणको काम गर्नुपरेको बताए । ‘हामीलाई खानामा मिलाउँला भनेर निर्माणको काममा लगाइयो । तर अहिले केही वास्तै गरिएन,’ उनले भने । 

यसका साथै उनीहरुले पाएको पोसाक पनि तोकिएको बजेटअनुसार नभएको बताएका छन् । पोसाकबापत ११ हजार ५ सय ७० पाएको र जस्ताको तस्तै फिर्ता गरेको निर्वाचन प्रहरी दीपक केसीको भनाइ छ । ‘तालिमका बेला इन्सपेक्टर सापले हामीलाई पोसाकको ६ हजार लाग्छ भन्नुभएको थियो । तर अहिले पूरै पैसा मागियो,’ उनले भने, ‘पोसाक पनि त गतिलो छैन । यसमा पनि गडबड भएको जस्तो लागेको छ ।’

निर्वाचन प्रहरीले रुकुम पूर्वमा खानाबापत १२ हजार, हिमाली भत्ता ३३ सय, गाडी भाडा ८ सय ४६ र पोसाकको ११ हजार ५ सय ७० र पारिश्रमिकबापत ४० दिन काम गरेबापत प्रतिदिन ८ सय ६९ दरले कुल ३४ हजार ७ सय ६० पाउनुपर्ने सम्झौतामा भएको निर्वाचन प्रहरीको भनाइ छ । उनीहरुले केही निर्वाचन प्रहरी प्रमुख जिल्ला अधिकारी निकट रहेको र तालिमका बेला १०–४ मात्रै खटेको आरोप समेत लगाएका छन् । 

प्रहरी प्रमुख डीसपी उमाशंकर प्रसाद यादवले भने निर्वाचन प्रहरीले आरोप मात्रै लगाएको र कार्यालयका तर्फबाट कुनै पनि प्रकारको कमीकमजोरी नभएको बताएका छन् । ‘निर्वाचन प्रहरीको आवेदन देशको जुनसुकै ठाउँबाट दिन सक्ने र हुन सक्ने भएकाले यस जिल्लामा विभिन्न ठाउँबाट आउनुभएको छ । तर यसरी छुट्टै विशेष सुविधा दिइएको भने छैन,’ उनले भने, ‘तराईबाट आउनुभएका केहीलाई हाई अल्टिच्युडमा गाह्रो हुन सक्ने भएकाले नजिकै र केहीलाई पेट्रोलिङमा खटाइएको हो । यसमा छुट्टै नियत केही छैन ।’ तालिमका बेला साँझ–बिहान कार्यालय सरसफाइको काममा लगाए हुन सक्ने भए पनि भवन निर्माणको काममा नलगाएको उनले दाबी गरे ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully