गुल्मीमा २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले बताए ।
गुल्मी — गुल्मीका दुई निर्वाचन क्षेत्रमा दिउँसो ३ बजेसम्म ९० हजार २४ अर्थात् ३९.१८ प्रतिशत मत खसेकाे छ । जिल्लाका सबै मतदान स्थलमा अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रैले जानकारी दिए ।
गुल्मीमा २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले बताए । उनका अनुसार महिला १ लाख १५ हजार २ सय १० जना, पुरुष १ लाख १४ हजार ३ सय ३७ जना र अन्य दुई जना मतदाता रहेका छन् ।
गत निर्वाचनको तुलनामा अहिले मतदाताको संख्या ५ हजार २ सय ७३ ले बढेको छ । जिल्लामा १ सय ४५ मतदान स्थल र २ सय ८४ मतदान केन्द्र रहेको घिमिरेले बताए ।
क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १ सय ८६ जना मतदाता रहेका छन् । जसमा महिला ६२ हजार २ सय ७२ र पुरुष ५९ हजार ९ सय १४ जना रहेका छन् । यस क्षेत्रमा ८३ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३ सय ६३ जना मतदाता छन् । जसमा महिला ५२ हजार ९ सय ३८ जना, पुरुष ५४ हजार ४ सय २३ जना र अन्य दुई जना रहेका छन् । यस क्षेत्रमा ६२ मतदान स्थल र १ सय २९ मतदान केन्द्र छन् ।
