‘जोर जोरले कराएर चितुवाबाट श्रीमान्‌लाई जोगाएँ’

‘मसँग घाँस बाँध्ने डोरी बाहेक केही थिएन । आँखा अगाडि गहुँ खेतमा श्रीमान्‌ चितुवासँग लडिरहेको देखेपछि मेरो होसले कामै गरेन । आत्तिएँ र डोरी हल्लाउँदै जोर जोरले कराएँ । एकछिन पछि श्रीमान्‌लाई छोडेर चितुवा गहुँबारीतिर भाग्यो ।’

फाल्गुन २०, २०८२

रामप्रसाद चौहान 

'I saved my husband from a leopard by shouting loudly'

बर्दिया — चितुवाले यहाँ एकैदिन दुई ठाउँमा आक्रमण गरेको छ । चितुवाको आक्रमणबाट बुधबार राजापुर नगरपालिका–१० कालाबंजरका ६ वर्षीय आदित्य चौधरीको ज्यान गाएको छ भने अन्य तीन जना घाइते भएका छन् । यस्तै, चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–२ संगम बस्तीका ५० वर्षीय नसरुदिन गुज्जर घाइते भएका छन् ।

नसरुदिन र उनकी श्रीमती छिमिया गुज्जर बुधबार गाउँ नजिकै रहेको आफ्नै खेतमा घाँस काट्न गएका थिए । श्रीमान् र श्रीमती दुवै जना आफ्नै सुरमा कुरा गर्दै गहुँ खेतको आलीमा हिँडिरहेका थिए । आलीमा हिँडिरहेका दुवैले गहुँ झरेको देखे । त्यहाँ चितुवा बसेको रहेछ । ‘गहुँमा कसैले घाँस काटेकोले गहुँ गिरेको छ,’ छिमियाले श्रीमान्‌सँग बताउँदै अघि बढिन्,‘हामीलाई चितुवाको कुनै शंका थिएन, पछाडि फर्केर हेर्दा श्रीमान्‌लाई चितुवाले घाँटीमा समातेर गहुँमा लडाइसकेको देखेँ ।’ 

उनीसँग घाँस बाँध्ने डोरी बाहेक केही थिएन । ‘मसँग घाँस बाँध्ने डोरी बाहेक अरु केही थिएन । आँखा अगाडि गहुँ खेतमा श्रीमान्‌ चितुवासँग लडिरहेको देखेपछि मेरो होसले कामै गरेन । आत्तिएँ र डोरी हल्लाउँदै जोर जोरले कराएँ । एकछिन पछि श्रीमान्‌लाई छोडेर चितुवा गहुँबारीतिर भाग्यो,’ उनले भनिन् ।

श्रीमान् र चितुवा गहुँ खेतमा लडिबुडी खेलेको देखेको झझल्कोले मन सिरिङ सिरिङ भइरहेको उनले बताइन् । घाइते गुज्जरको घाँटी र कम्मरमा चोट लागेको छ । प्रहरीका अनुसार उनको बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।

घर आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । उपचारको लागि तत्काल बर्दिया अस्पताल पुर्‍याउँदा चिकित्सकले जाँचेर बालकलाई मृत घोषणा गरेका थिए ।

उक्त चितुवालाई भगाउन गएका राजापुर नगरपालिका–१० कालाबंजरका ४१ वर्षीय कृतिमान थारु, ४१ वर्षीय धनीराम थारु र ३८ वर्षीय श्यामलाल थारु घाइते भएका छन् । उनीहरुको नेपालगन्जस्थित उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ । 

बुधबारको घटनासहित चालु आर्थिक वर्षको साउनयता चितुवाको आक्रमणबाट ९, बाघको एक र हात्तीको आक्रमणबाट एक जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालयको तथ्यांकले जनाएको छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully