मजदुरी गर्दागर्दै छात्रवृत्तिमा नाम निकालेका साफीले शुक्रबारबाट दाङमा एमबीबीएसको पढाइ सुरु गरेका छन् ।
What you should know
दाङ — सेतो एप्रोन लगाएर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेश गर्दा सत्यनारायण साफीको अनुहारमा चमक छाएको थियो । मजदुरी गर्दागर्दै छात्रवृत्तिमा नाम निकालेका साफीले शुक्रबारदेखि औपचारिक एमबीबीएस कक्षा आरम्भ गरेका हुन् ।
सिराहाको बरियारपट्टी गाउँपालिका–२, श्रीपुर गाउँका २१ वर्षीय साफीले गरिबी, अभाव र समस्याको बीचमा सफलता हासिल गरेका थिए । मजदुरी गर्दागर्दै पनि कडा मिहिनेतका साथ उनले एमबीबीएसको प्रवेश परीक्षा दिएका थिए । उनको नाम निस्केपछि धेरै मानिस चकित परेका थिए ।
प्रतिष्ठानले एमबीबीएस दोस्रो ब्याचका रूपमा उनलाई स्वागत गरेको छ । ‘ह्वाइट कोट सेरेमनी’ मा उनैले सबैको ध्यान तानेका थिए । नयाँ साथी र प्राध्यापकहरूले उनलाई बधाई र हौसला दिए ।
चिकित्सा शिक्षा आयोगले गत कार्तिक १५ गते लिएको एमबीबीएस प्रवेश परीक्षामा साफीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका हुन् । मंसिर २४ मा नतिजा आउँदा उनीमात्रै होइन, परिवार र गाउँ छिमेकका सबै मानिस दंग परे । 
दलित समुदायका साफीको आर्थिक अवस्था निकै कमजोर छ । साढे चार धुर घडेरी र त्यसमा भएको सानो झुप्रो उनको सम्पत्ति हो । उनका बुबा मधुरी तीन वर्षअघिसम्म कतारमा वैदेशिक रोजगारीमा थिए । त्यसपछि घर फर्केर मजदुरी गर्न थाले । साफीकी आमा सुनिता गृहिणी हुन् । साफी चार सन्तानमध्येका जेठा हुन् ।
उनले २०७७ मा गाउँकै जनता माध्यमिक (प्राविधिक) विद्यालय, बरियारपट्टीबाट एसईई गरेका थिए । २०७९ मा विराटनगरको अरनिको माविबाट विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरे । त्यसपछि डाक्टर बन्ने रहरले उनलाई सुखसँग बस्न दिएन । २०८० मा प्रवेश परीक्षा तयारीका लागि काठमाडौं गए । पहिलोपटकको परीक्षामा सफल हुन सकेनन् ।
दोस्रो प्रयासमा उनी सफल भए । प्रवेश परीक्षाका लागि काठमाडौं आउजाउ गर्दाको खर्च जुटाउन उनलाई कठिन थियो । उनले घर निर्माणका काममा मजदुरी गर्न थाले । ‘बिहानै उठेर काममा जान्थें । कामबाट फर्केर राती अबेरसम्म पढ्थेँ,’ उनले भने, ‘कामको दुःखभन्दा पढाइको चिन्ताले सताइरहेको हुन्थ्यो ।’
नाम निस्केपछि पनि उनलाई भर्ना गर्न समस्या थियो । आमाले छिमेकीसँग ८० हजार रुपैयाँ सापटी मागिन् । त्यसपछि उनी पुस ८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुन आए । भर्ना हुँदा ६४ हजार खर्च भैसकेको छ । छात्रवृत्ति पाएकाले मासिक शुल्क तिर्नु नपरे पनि बसोबास, खानपान, यातायात, पढाइ सामग्रीमा लाग्ने खर्चले उनलाई अझै चिन्तित बनाएको छ ।
ज्याला–मजदुरीले जीविका चलाउँदै आएको परिवारले यो खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । ‘दिनभर काम नगरे बेलुका खाना जुटाउन गाह्रो छ । मेरो खर्चले आमाबुवालाई थप तनाव हुने भएको छ,’ उनले भने, ‘केहीले आर्थिक सहयोग पनि गरिरहनुभएको छ । त्यसले लामो समय पुग्ने कुरा भएन । पढाइसँगै खर्चको दबाब बढ्ने देखिन्छ ।’
उनीसहित ५० जना विद्यार्थीले औपचारिक रूपमा सेतो कोट (एप्रोन) लगाएका छन् । प्रतिष्ठानका निमित्त उपकुलपति श्याम लम्साल, निमित्त डिन डा. रमेश कँडेल र निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थीले विद्यार्थीलाई एप्रोन लगाइदिए । सेतो एप्रोनसँगै चिकित्सा पेसाको मर्यादा, जिम्मेवारी र नैतिकता थपिएको निमित्त उपकुलपति लम्सालले बताए ।
दोस्रो ब्याचमा चार जना विदेशी विद्यार्थी भर्ना भएका छन् । पहिलो वर्ष ५० विद्यार्थी भर्ना भई अध्ययन गरिरहेका छन् । प्रतिष्ठानमा बीएनएस, बीएस्सी नर्सिङ र एमडी/एमएस कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।
