अर्को निर्वाचनमा हेक्लाङ स्वास्थ्य चौकीमा मतदान केन्द्र नराखिने 

सुरक्षा समिति, निर्वाचन अधिकृत, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसहितको सर्वपक्षीय छलफलपछि स्थानीय बासिन्दा सहमतिमा आएका हुन् ।

फाल्गुन १९, २०८२

माधव अर्याल

Polling stations will not be set up at Heklang Health Post in the next election

पाल्पा — आगामी निर्वाचनमा पूर्वखोला गाउँपालिका-६, हेक्लाङस्थित हेक्लाङ स्वास्थ्य चौकीमा मतदान केन्द्र नराख्ने गरी यसपटकलाई स्वास्थ्य चौकीमै मतदान केन्द्र राख्न स्थानीय सहमत भएका छन् । 

सुरक्षा समिति, निर्वाचन अधिकृत, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसहितको सर्वपक्षीय छलफलपछि स्थानीय बासिन्दा सहमतिमा आएका हुन् । उनीहरूले आगामी निर्वाचनमा स्वास्थ्य चौकीमा रहेको मतदानस्थल नजिकैको बालहित प्राथमिक विद्यालयमा स्थानान्तरण गर्नुपर्ने माग राखेका थिए । 

सोमबार मतदान अधिकृतसहित सुरक्षाकर्मी केन्द्रमा पुग्दा उनीहरूले मतदानका सामग्री राख्दा आपत्ति जनाउँदै अवरोध गरेका थिए । लामो छलफलपछि यस पटकलाई स्वास्थ्य चौकीमै मतदान केन्द्र राख्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए । 

‘गाउँपालिकाले विद्यालयमा केन्द्र राख्नका लागि आवश्यक सहयोग गर्नसमेत तयार भएको छ,’ उनले भने, ‘आगामी दिनमा स्वास्थ्य चौकीमा नराख्ने र यसपटकलाई सुरक्षाका दृष्टिकोणले पनि अब अन्यत्र सार्न समस्या हुने बताएपछि स्थानीय बासिन्दा सहमत हुनुभयो ।’ गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले आवश्यक सहयोग गर्न आफूहरू सधैं तयार नै रहेको बताए । 

स्थानीयले यसअघि नै निर्वाचन कार्यालयमा स्वास्थ्य चौकीबाट मतदानस्थल र केन्द्र हटाउन निवेदन दिए पनि सुनुवाइ भएको थिएन । स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर साथै आपतकालीन सेवाप्रवाहमा कुनै अवरोध नहुने गरी मतदानस्थल सञ्चालन हुने प्रहरी उपरीक्षक दीपेन्द्र थारु पञ्जियारले बताए । मतदान केन्द्रका रूपमा प्रयोग गर्दा स्वास्थ्य सेवामा कुनै पनि असर नपुग्ने गरी सञ्चालन गरिने उनले बताए । 

स्थानीयले भने विकल्प हुँदाहुँदै स्वास्थ्य चौकीमा राख्नु गलत भएको बताएका थिए । स्वास्थ्य चौकीदेखि ५० मिटरको दूरीमा रहेको बालहित प्राविमा दुई वटा भवन छ । पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले यसपटक स्वास्थ्य चौकीमै सञ्चालन भए पनि आगामी निर्वाचनमा यस विषयलाई पुन: विवाद आउन नदिने गरी समाधान हुनुपर्ने बताए । 

तस्बिर : माधव अर्याल/कान्तिपुर 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully