स्वास्थ्य चौकीमा मतदान केन्द्र राखिएपछि स्थानीयको आपत्ति

स्वास्थ्य सेवामा असर पर्ने भन्दै मतदान केन्द्र सार्न हेक्लाङवासीले माग गरेका छन् ।

फाल्गुन १९, २०८२

माधव अर्याल

Locals object to setting up a polling station at a health post

पाल्पा — पूर्वखोला गाउँपालिका–६, हेक्लाङका स्थानीयले स्वास्थ्य चौकीमा मतदान केन्द्र राखिएकामा आपत्ति जनाएका छन् । मतदान अधिकृतसहित सुरक्षाकर्मी केन्द्रमा पुग्दा उनीहरुले मतदानका सामग्री राख्न अवरोध गरे ।

हेक्लाङस्थित हेक्लाङ स्वास्थ्य चौकीमा मतदान केन्द्र नराख्न र स्थानान्तरण गर्न भन्दै उनीहरुले यसअघि नै निवेदन दिएका थिए । 'निर्वाचन कार्यालयमा निवेदन दिए पनि सुनुवाइ भएन,' स्थानीय हरिबहादुर बाह्रघरेले भने ।

माग सम्बोधन नभएपछि पहिले मतदान केन्द्र तोकिएको नजिकैको बालहित प्राथमिक विद्यालयमा निर्वाचन सामग्री राख्न माग गरेको उनले बताए । ‘मानवीयताको नाताले मात्र हामीले सोमबार बस्न दिएका हौं,’ उनले भने, ‘मतदान केन्द्र तथा स्थल राख्न कुनै पनि हिसाबले दिँदैनौं ।’

स्वास्थ्य चौकीमा बर्थिङसेन्टर छ । आपतकालीन सेवा दिने गरिन्छ । मतदान केन्द्रको रूपमा प्रयोग गर्दा स्वास्थ्य सेवामा असर पुग्न सक्ने भएकाले यहाँ नराख्न माग गरेको स्थानीयले बताए । विकल्प हुँदाहुँदै स्वास्थ्य चौकीमा राख्नु गलत भएको उनीहरुको भनाइ छ ।

स्वास्थ्य चौकी प्रमुख जयप्रकाश शाह बिदामा छन् । ५० मिटरको दुरीमा रहेको बालहित प्राविमा दुई वटा भवन छ । यसअघि नै हेक्लाङ स्वास्थ्य चौकीमा मतदान केन्द्र नराख्न हेक्लाङका सबै दलका प्रतिनिधिले माग गर्दै आएका थिए । एमालेका धनबहादुर सारु, कांग्रेसका दुर्गाबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका हरिबहादुर बाह्रघरे लगायतले राख्न नहुने माग राखेका हुन् ।  

२०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा स्वास्थ्य चौकी मतदानस्थल तोकिएको थियो । तर स्थानीयले स्वास्थ्य चौकीमा हुन नहुने भन्दै विरोध जनाएपछि बालहितमै राखिएको अनमी दीपा हिस्की थापाले बताइन् । 'स्वाास्थ्य चौकीमा १९ गते र २१ गतेको सुत्केरी हुनेको मिति छ,' उनले भनिन् ।

सबै निर्वाचन सामग्री सुरक्षाकर्मीको निगरानीमा सुरक्षित रहेको र आफूहरूले निर्वाचन बिथोल्न नचाहेको स्थानीयको भनाइ छ ।

स्वास्थ्यचौकीमा दुई वटा मतदान केन्द्र रहेको छ । ‘क’ केन्द्रमा मतदान अधिकृत देवीप्रसाद बस्याल र ‘ख’ केन्द्रमा नित्यानन्द खनाल खटिएका छन् । उनीहरूले सम्पूर्ण सामग्रीहरूसहित आफूहरू निर्वाचन अधिकृतको कार्यालयको निर्णयको पखाईमा रहेको बताए । ‘बास हामी स्वास्थ्यचौकीमै बसेका छौं,’ मतदान अधिकृत खनालले भने, ‘अब बाँकी सर्वदलीय बैठक तथा छलफलबाट के निष्कर्ष निस्कन्छ सोही अनुसार गर्नेछौं ।’ 

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले यस विषयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलगायत सुरक्षाको बैठक बसेको बताए । असुरक्षा महसुस गरेर भवन भएकाले स्वास्थ्य चौकीमै केन्द्र राखिएको उनले बताए ।

पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले स्वास्थ्य चौकीमा पुगेर स्थानीयसँग छलफल गरिसकेपछि मात्र निर्णयमा पुगिने बताए ।

प्रहरी उपरीक्षक दीपेन्द्र थारु पञ्जियारले स्थानीय सर्वदलीय, सर्वपक्षीय बैठक बसेपछि निस्केको निष्कर्ष नै प्रमुख हुने बताए । यो केन्द्रमा १ हजार ७०१ मतदाता छन् । यहाँ ‘क’ केन्द्रमा ८४० जना र ‘ख’ केन्द्रमा ८४१ देखि १ हजार ७०१ सम्म रहेको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully