जिल्लाका सबै १ सय ४५ मतदान स्थलमा निर्वाचन सामग्री पुर्याइएको गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताए ।
गुल्मी — जिल्लाका सबै १ सय ४५ मतदान स्थलमा निर्वाचन कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । जिल्लाका यी मतदान स्थलमा २ सय ८४ मतदान केन्द्र छन् । सबै मतदान स्थलमा निर्वाचन सामग्री पुर्याइएको गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताए ।
उनले निर्धारित समयमै कर्मचारी र सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेर केन्द्रमा गर्नुपर्ने तयारी गरिरहेको बताए । जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १ सय ८६ जना र क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३ सय ६३ मतदाता रहेका छन् ।
मतदान अधिकृत, सहायक अधिकृत तथा अन्य कर्मचारी गरी १ हजार ७ सय ८ जना कर्मचारी र १ हजार ८ सय ७४ जना निर्वाचन प्रहरी खटिएका छन् । साथमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
