रूपन्देही-२ मा कांग्रेसलाई सहयोग गर्ने क्षेत्रीय समितिको निर्णयले राप्रपामा विवाद

केन्द्रले दियो सहयोग गर्नेलाई कारबाहीको चेतावनी ।

फाल्गुन १८, २०८२

घनश्याम गौतम

Controversy within RPP over regional committee's decision to support Congress in Rupandehi-2

What you should know

बुटवल — प्रतिनिधि सभाको बिहीबार हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेललाई सहयोग गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । रूपन्देही–२ मा प्रत्यक्षतर्फ राप्रपाको उम्मेदवार छैन । प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी कार्भिका थापाको विदेशी नागरिकता त्यागेको तीन महिना समय नपुगेको जानकारीपछि उनको उम्मेदवारी खारेजीमा परेको थियो ।

राप्रपाको क्षेत्रीय समितिका सभापति रामबहादुर थापाले आइतबार विज्ञप्ती जारी गर्दै आफ्नो उम्मेदवार नभएको अवस्थामा मत एकीकृत गराई राख्न विचार मिल्ने दल नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने निर्णय भएको विज्ञप्ती जारी गरेका थिए । जिल्ला अध्यक्ष सागरप्रताप राणाले आइतबार नै क्षेत्र नं २ का सभापतिको निर्णयको खण्डन गरेका थिए । तर, प्रदेश समितिका सभापति प्रदीप उदयले समर्थन गरेका थिए ।

सोमबार राप्रपाको केन्द्रीय समितिका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ती जारी गर्दै क्षेत्रीय समितिले गरेको निर्णय वैध नरहेको र सल्लाह र छलफलबिना विज्ञप्ती जारी गर्ने क्षेत्रीय सभापति रामबहादुर थापालाई निलम्बन गर्ने निर्णय भएको जानकारी दिएका छन् । ‘रूपन्देही क्षेत्र नं २ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरूमा कुनै सत्यता छैन,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘राप्रपाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन ।’ पार्टीको नीति विपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्ने पनि विज्ञप्तीमा उल्लेख छ । राप्रपाले रूपन्देही–२ मा प्रत्यक्षतर्फको उम्मेदवार नभएपछि समानुपातिकतर्फ मात्र मत मागिरहेको छ । 

रूपन्देही–२ मा २०७९ को निर्वाचनमा समानुपातिकतर्फ रास्वपाले २५ हजार ६ सय ७३, एमालेले २१ हजार १ सय ८३, कांग्रेसले १३ हजार ४ सय ५०, राप्रपाले ५ हजार ६ सय, जनमुक्ति पार्टीले ४ हजार १ सय ९७ र माओवादी केन्द्रले ३ हजार ४ सय २९ मत ल्याएका थिए । प्रत्यक्षतर्फ एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी भएका थिए । यसपटक यस क्षेत्रमा एमालेबाट विष्णु पौडेल, कांग्रेसबाट चुन्नप्रसाद पौडेल, रास्वपाबाट सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीबाट सुभाष (विश्वदीप) पाण्डेसहित ३९ जना उम्मेदवार छन् ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully