राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष एवं दलित अधिकारकर्मी विनोद पहाडीसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतम पनि एमाले प्रवेश गरेका छन् ।
बुटवल — संविधान सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन् ।
रूपन्देही निवासी पहाडीलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेता लीला गिरीले शनिबार एमालेमा स्वागत गरेका हुन्। उनी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष एवं दलित अधिकारकर्मी पनि हुन् ।
एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर रोजेको बताए । उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको पनि बताए ।
‘मैले कुनै पद र स्वार्थका लागि एमाले रोजेको होइन,’ उनले भने, ‘राष्ट्रियता र स्वाभिमानका लागि अडिग रहेको एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन जरूरी रहेकाले साथ दिएको हॅु ।’
कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको पनि उनले बताए । उनीसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतम पनि एमाले प्रवेश गरेका छन् ।
