सामान्य घाइतेको स्थानीय सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भए पनि ५ जनालाई थप उपचारका लागि बुटवलस्थित सिटी अस्पतालमा रिफर गरिएको छ।
रोल्पा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार लिवाङमा आयोजित जिल्ला स्तरीय निर्वाचन जनसभामा सहभागी भएर घर फर्कंदै गरेका बेला बस दुर्घटनाग्रस्त भएको छ। प्रहरीका अनुसार बसमा ३२ जना यात्रारत रहेकामा ३१ जना घाइते भएका छन्।
लिवाङदेखि सुलिचौर हुँदै पूर्वी रोल्पातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो। प्रहरीका अनुसार सुनिल स्मृति गाउँपालिका-३ उपल्लो मिझिङस्थित गाउँमा ना ५ ख १२३१ नम्बरको बस दुर्घटनामा परेको हो।
दाङदेखि भालुवाङ-लिवाङ सडकअन्तर्गत मिझिङमा चलिरहेको बेला उक्त बसको ब्रेक फेल भएको थियो। उक्त बस रोल्पाको घोडागाउँतर्फ जाने क्रममा थियो। दुर्घटनाको एक घण्टापछि पुगेको सुलिचौरस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले दुर्घटना स्थलको अनुसन्धान गरेको थियो।
प्रहरी कार्यालयबाट खटिएको ९ जनाको टोलीले घाइतेको उपचारका लागि व्यवस्थापन गरेको थियो। सामान्य घाइतेहरूको स्थानीय सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भए पनि ५ जनालाई थप उपचारका लागि बुटवलस्थित सिटी अस्पतालमा रिफर गरिएको छ। घाइतेमध्ये २० जनाको सुलिचौरस्थित प्राथमिक स्वास्थ केन्द्रमा उपचार भएको थियो । ४२ सिटको उक्त बसका चालक सुनिल स्मृति गाउँपालिका-१ का नरेश केसी थिए।
