नेपालको एकमात्र सिकार आरक्षण बाग्लुङको ढोरपाटनसम्म जोड्न २०६५ सालमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकलाई सरकारले बहुवर्षीय योजनाका रूपमा अघि सारेको थियो । १७ वर्ष पुग्दासम्म ३८ प्रतिशत मात्रै काम पूरा भएको छ ।
What you should know
अर्घाखाँची — जिल्लामा प्रतिनिधिसभा सदस्य पदका कांग्रेस उम्मेदवार विष्णुप्रसाद खनालले आफूले चुनाव जितेपछि जिल्लाको अवस्था बदल्न सडकलाई प्राथमिकता दिने बताएका छन् । उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकलाई पूरा गर्ने र जिल्ला सदरमुकाम जोड्ने सन्धिखर्क–गोरुसिंगे सडकलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने बताएका हुन् ।
लुम्बिनी प्रदेश राजधानी जोड्ने गच्छे–भालुवाङ सडक र रामपुर–कपुरकोट सडकलाई पनि पहिलो प्राथमिकता दिएर काम सम्पन्न गर्ने उनले बताए ।
नेपालको एकमात्र सिकार आरक्षण बाग्लुङको ढोरपाटनसम्म जोड्न २०६५ सालमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकलाई सरकारले बहुवर्षीय योजनाका रूपमा अघि सारेको थियो । १७ वर्ष पुग्दासम्म ३८ प्रतिशत मात्रै काम पूरा भएको छ । जसमा २४ किलोमिटर मात्रै कालोपत्र भएको छ । यो आर्थिक वर्षमा ३९ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । रकमान्तर गरेर २ करोड ७५ लाख रुपैयाँ बजेट थपिएको छ ।
१५ किलोमिटर मध्यपहाडी लोकमार्गमा पर्ने यो सडकको लम्बाइ १ सय १७ किलोमिटर छ । जसमध्ये रूपन्देहीमा ५, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बाग्लुङमा ५० किलोमिटर पर्छ । एकै दिन हिमाल, पहाड र तराई भ्रमण गर्न सकिने एवं नेपालको एकमात्र सिकार आरक्षण बाग्लुङको ढोरपाटनमा पछिल्ला वर्षमा बजेट न्यून परेको छ । जसका कारण काममा ढिलासुस्ती भएको छ ।
‘ढोरपाटन अर्घाखाँचीको अवस्था बदल्ने पर्यटकीय सडक हो,’ खनालले भने, ‘यसमा बजेट थप्छु, छिट्टै निर्माण सम्पन्न गरेर नियमित गाडी सुचारु गर्छु । ढोरपाटन सिकार खेल्न विदेशी पर्यटक यही बाटो आउजाउ गर्ने, अर्घाखाँचीसहितका पहाडी जिल्लाका डाँडाकाँडा पर्यटकीय गन्तव्य बन्ने सम्भावना भएकाले पर्यटन र कृषि उद्यमबाट सयौं युवालाई रोजगारी सिर्जना हुन सक्छ ।’
सदरमुकाम जोड्ने सन्धिखर्क–गोरुसिंगे सडक, धार्मिक पर्यटकीय गन्तव्य सुपादेउराली मन्दिरमा दर्शनका लागि स्वदेश तथा भारतबाट सयौं भक्तजन भित्रिन्छन् । त्यसलाई डबल लेन बनाएर पर्यटकलाई यात्रामा सहज बनाउने उनले बताए ।
लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी आउजाउ गर्न सहज हुने गच्छे–भालुवाङ सडकलाई पूरा गर्ने पनि उनले बताए । २६ वर्षदेखि यो सडक निर्माण कार्य जारी छ । पर्याप्त बजेट अभावमा एउटै योजना वर्षौंसम्म पनि सम्पन्न भएको छैन । अहिले यो सडकमा ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो सडक सुचारु भएपछि गुल्मी र पाल्पावासीलाई प्रदेश राजधानी आउजाउ गर्न सहज हुनेछ ।
पाल्पाको रामपुर, अर्घाखाँचीको पाणिनि गाउँपालिका, भूमिकास्थान नगरपालिकाको भूगोलसहित प्यूठान हुँदै सल्यानको कपुरकोटसम्म जोड्ने सडक पनि निर्माणधीन अवस्थामा छ । पहाडी जिल्लाको उत्पादन तराई, बुटवलसम्म पुर्याउन छोटो दूरी मानिन्छ । यसले पहाड र तराईको यात्रा सहज र छोटो बनाउने विश्वास छ ।
