बुटवल–नारायणगढ सडक खण्ड  : घटेन सवारी दुर्घटना   

'दुर्घटनामध्ये ७० प्रतिशतभन्दा बढीको कारण तिव्र गति देखिएकाे छ । यस्तै कालोपत्रे सडकमा ल्याण्ड मार्किङ, फुटपाथ, डिभाइडर, ठूला तथा साना सवारीसाधन र पैदलयात्री हिड्ने लेन नछुट्टाउँदा पनि दुर्घटनाको जोखिम बढेको हो ।’

फाल्गुन १५, २०८२

नवीन पौडेल

Butwal-Narayangadh road section: No traffic accidents reported

What you should know

परासी — ११ पुसमा पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१५ झहरी खोला नजिकै नारायणगढतर्फ जाँदै गरेको यूपी७२एटी ३७४६ नम्बरको भारतीय ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना३६प ५७३ नम्बरको स्कुटरलाई ठक्कर दियो । दुर्घटनमा स्कुटर चालक गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार यो दुर्घटनाको कारण लेन अनुशासन पालना नगर्नु थियो । 

२९ माघमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोतीबाट रजहरतर्फ जाँदै गरेको बा२१च ५१६८ नम्बरको स्कार्पियो जिपले १३ वर्षका रिजन धिताल र १४ वर्षका रिप्सन सुनार सवार साइकललाई ठक्कर दियो । सडक पार गर्नेक्रममा उनीहरूलाई स्कर्पियो जिपले ठक्कर दिएको थियो । घाइतेमध्ये रिप्सन सुनारको नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भयो । 

यी त प्रतिनिधि घटना मात्र हुन् । केही समययता यस सडक खण्डमा दैनिकजसो दुर्घटना भइरहेका छन् । विस्तारपछि तीव्र गतिमा सवारी हाक्ने र लेन अनुशासन पालना नगर्ने जस्ता कारणले पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्डमा दुर्घटना दर ह्वातै बढेको छ । अहिले बुटवल–नारायणगढ सडक खण्डको दाउन्नेबाहेक अधिकांश खण्ड कालोपत्रे भइसकेको छ । वर्षौसम्म धुलाम्मे र खाल्डाखुल्डी सडकमा जोगिएर यात्रा गरिरहेका यात्रु र सवारी चालकले फराकिलो र कालोपत्रे सडकमा गति सिमित नराख्दा सडक दुर्घटना दर बढिरहेको छ । 

आठ महिनामै ४ सयभन्दा बढी दुर्घटना  

पूर्वी नवलपरासीमा आर्थिक वर्ष २०८०/८१ मा भएका १ सय ३५ दुर्घटनामा ४६ जनाले ज्यान गुमाएका थिए भने ९० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । यस अवधिमा बुटवल–नारायणगढ खण्ड विस्तार प्रक्रियामै रहेकाले खाल्टाखुल्टी र जीर्ण अवस्था थियो । 

आर्थिक वर्ष २०८१/८२ को १५ फागुनसम्ममा पूर्वी नवलपरासीमा ७४ वटा दुर्घटना भएकोमा २३ जनाको मृत्यु र १ सय १४ जना घाइते भएका थिए । चालु आर्थिक वर्षको ८ महिना (१५ फागुनसम्म)मा भएका ८० वटा दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् । यसले दुर्घटनाको दर बढेको पुष्टि गर्छ । 

पश्चिम नवलपरासीमा २०८१/८२ मा ३ सय ७८ दुर्घटनामा ४६ जनाको मृत्यु र ६ सय ५ जना घाइते भएका थिए । चालु आर्थिक वर्षको आठ महिनामा भएका ३ सय ४९ दुर्घटनामा २६ जनाको मृत्यु र ५ सय ७५ जना घाइते भएका छन् । आर्थिक वर्ष सकिन ५ महिना बाँकी हुँदा नै अघिल्लो आर्थिक वर्षको दुर्घटनाको तथ्यांक नजिक पुगेको छ । 

‘सडक विस्तार भएको छ । पहिले खाल्डा, धुलो र हिलोले दुर्घटना हुने गर्थ्यो । सडकको अवस्था राम्रो नभएको भन्दै चालकले पनि सावधानीपुर्वक सवारी चलाउने गर्दथे ।’ कावासोतीका उत्तम लामिछानेले भने, ‘अहिले सडक चिल्लो छ । फाराकिलो सडकमा सवारीको गति पनि तीव्र हुने, पैदलयात्रीलाई पनि कहाँबाट सडक पार गर्ने भन्ने एकिन नहुने, ट्राफिक चिन्ह नहुँदा जथाभावी लेनको प्रयोग गर्दा दुर्घटना बढेको छ ।’

मुख्यगरी बुटवल–नारायणगढ सडकखण्डको गैंडाकोट, अमरापुरी, रजहर, दलदले, कावासोती, चोरमारा, दुम्किबास, बर्दघाट, भुमही, सुनवल, खैरहनी, बुटवल जस्ता बजारमा जेब्राक्रस अभाव, लेनसम्बन्धी जनचेतना नहुँदा दुर्घटना बढेको सरोकारवाला बताउँछन् । 

सडक विस्तारकै क्रममा सडक सुरक्षासम्बन्धी व्यवस्था गर्नु पर्ने भए पनि निर्माण र सरकारी पक्षले यसमा ध्यान दिएका छैनन् । सडक सुरक्षाविज्ञ सुदिप पौडेलका अनुसार सडक विस्तारको क्रममा पनि ठेकेदार र सरकारी पक्ष दुवैले निर्माणस्थलमा जानकारीमूलक चिन्ह राख्ने, सडक बन्द हुने र निर्माणको लागि पूर्वसूचना दिनुपर्नेलगायतका काम गर्नुपर्ने भए पनि त्यसो गरेको पाइदैन् । पौडेलले भने, ‘सडक विस्तार हुँदै छ भदैमा ट्रफिक नियम पालना गर्नु पर्दैन भन्ने होइन् । प्रशासनले कडाइको साथ सडक सुरक्षा नियम पालना गर्नतर्फ लगाउनु पर्छ ।’ 

सडक जिर्ण हुँदा बाध्य भएर बिस्तारै सवारी साधन चलाउने चालकहरूले अहिले फराकिलो सडक पाउनासाथ अनियन्त्रित गतिमा सवारी कुदाउने गरेका छन् । सडक विस्तार भए पनि चालकहरूले लेन अनुशासनको पालन नगरेर बीच सडकमा जथाभाबी ओभरटेक गर्दा विपरीत दिशाबाट आएका सवारीसँग ठोक्किने गरेको छ ।

कालोपत्रे भए पनि धेरै ठाउँमा ‘रोड मार्किङ’, ट्राफिक संकेत र ‘डिभाइडर’ राखिएको छैन् । छाडा चौपायाका कारण उच्चगतिमा रहेका सवारीसाधनले समयमै ‘ब्रेक’ लगाउन नसक्दा दुर्घटना हुने गरेको छ । 

यसकारण दुर्घटना दर बढ्दोButwal-Narayangadh road section: No traffic accidents reported

सवारीचालक गणेश विश्वकर्मा रातको समयमा कहाँ सडक निमार्ण हुँदैछ भन्ने पूर्वसूचना नहुँदा धेरै दुर्घटना भइरहेको बताउँछन् । ‘दिउँसो बुटवल जाँदा ठिक भएको सडक फर्कदा बन्द हुन्छ, रातको समयमा एक्कासी क्रस गर्नुपर्ने, अर्को लेनमा जानुपर्दा अनियन्त्रित भएर दुर्घटनाको जोखिम छ ।’ विश्वकर्माले भने, ‘ट्राफिक चिन्ह नराख्ने, जथाभावी बाटो काट्ने र लेन अनुशासन पालना नगर्ने क्रम पनि छ । तर, दोषजति सबै सवारीचालकलाई मात्र दिने गर्छन् ।’ 

बुटवल–नारायणगढको दाउन्नेबाहेक अन्य क्षेत्रमा सडक कालोपत्रे भइसकेको छ । आयोजनाका अनुसार करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । विस्तार भैरहेको खण्डमा पनि सडक सुरक्षामा ध्यान दिएको छैन । सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार सम्झौताअनुसार ठेकेदार पक्षलाई सुरक्षाका सबै नियम पालना गर्नुपर्ने विषयमा सजग गराएको र केही स्थानमा त्रुटि भेटिएपछि सुधार भएको बताए । 

मुख्य बजार क्षेत्रमा सवारी चालक, यात्रु र पैदलयात्री कसैले पनि ट्राफिक नियम पालना गरेको देखिँदैन् । सडक पार गर्ने स्थानसम्म जान अल्छी मानेर विपरित लेनमा हिड्ने, जथाभावी सडक पार गरिरहेको भेटिन्छ । सडक सुरक्षाका लागि केही स्थानमा ट्राफिक चिन्ह राखिए पनि सर्वसाधारणले नियम पालना नगर्दा दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख कुशल कुमार बर्तौलाले बताए । ‘यहाँ हुने सवारी दुर्घटनामध्ये ७० प्रतिशतभन्दा बढीको कारण  तिव्र गति देखिएकाे छ ।,’ बर्तौलाले भने, ‘कालोपत्रे सडकमा ल्याण्ड मार्किङ, फुटपाथ, डिभाइडर, ठूला तथा साना सवारीसाधन र पैदलयात्री हिड्ने लेन नछुट्टाउँदा पनि दुर्घटनाको जोखिम बढेको हो ।’

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully