प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार गुल्मीमा रहेका १ सय ४५ मतदान स्थलमा एक/एक जनाका दरले स्वास्थ्यकर्मी खटाउने तयारी भइरहेको छ ।
What you should know
गुल्मी —
जिल्लाका मतदान स्थलमा प्राथमिक उपचारका लागि उपचार डेस्क स्थापना गर्ने तयारी भइरहेको छ । केन्द्रीय निर्देशन वा नीति नभए पनि यस जिल्लामा स्वास्थ्यकर्मी खटाउने तयारी भइरहेको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी गतिविधि पत्रकारलाई जानकारी गराउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले यसबारेमा तयारी भइरहेको जानकारी गराएका हुन् । उनले हालसम्मको निर्वाचन तयारी र आगामी तयारीका बारेमा जानकारी गराउँदै स्वास्थ्यकर्मी खटाउने तयारी भइरहेको बताए । 'यो केन्द्रबाटै आएको कार्यक्रम होइन, हामीले छुट्टै यस्तो साेच बनाएका हौं,' उनले भने, 'हामीले पहिलोपटक जिल्लाका सबै मतदान स्थलमा प्राथमिक उपचार केन्द्र स्थापना गर्दैछौं ।'
गुल्मीमा रहेका १ सय ४५ मतदान स्थलमा एक/एक जनाका दरले स्वास्थ्यकर्मी खटाउने तयारी छ । जुन स्थानीय पालिकाकाे समन्वयमा तयारी भइरहेको छ ।
गुल्मीमा दुई निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ मा ८३ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र कायम गरिएको छ । क्षेत्र नम्बर २ मा ६२ मतदान स्थल र १ सय २९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताए ।
क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १ सय ८६ मतदाता छन् । जसमा महिला ६२ हजार २ सय ७२ र पुरुष ५९ हजार ९ सय १४ रहेका छन् । साथै क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३ सय ६३ जना मतदाता रहेका छन् । जसमा महिला ५२ हजार ९ सय ३८ जना, पुरुष ५४ हजार ४ सय २३ जना र अन्य दुई जना रहेकाे जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताए ।
