लुम्बिनीको तीनदिने भ्रमण पूरा गरी म्यान्मारका राजदूत थान सीन सोमबार राजधानी काठमाडौं फर्किएका छन् ।
लुम्बिनी — म्यान्मारका राजदूत थान सीनले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भ्रमण गरेका छन् । उनले मन्दिरमा पूजाआजा र प्रार्थना गरेका हुन् ।
राजदूत सीले करुणा, मैत्रीभाव र सद्भावको उद्गमस्थल भएका म्यान्मारी जनता लुम्बिनीलाई निकै आस्था र श्रद्धाका रूपमा मान्ने बताए । त्यसैले उनले लुम्बिनीको विकासका लागि म्यान्मार सधैं सहयोग र सहकार्यको हात बढाउन तयार रहने सुनाए ।
लुम्बिनीकै कारण दुई देशको सम्बन्ध अझ नजिक र सुमधुर रहेको उनले बताए । राजदूतलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठले उपहार र लुम्बिनीको कफी टेबल बुक प्रदान गरेका थिए ।
लुम्बिनीको ऐतिहासिक, पुरातात्विक महत्त्व, उत्खनन र संरक्षणका प्रयास तथा लुम्बिनी विकास गुरुयोजनाबारे सदस्य–सचिव श्रेष्ठ र कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले जानकारी गराएका थिए । लुम्बिनीको तीनदिने भ्रमण पूरा गरी राजदूत सोमबार राजधानी काठमाडौं फर्किएका छन् ।
यसअघि उनले कपिलवस्तुस्थित पुरातात्विक तथा ऐतिहासिक बुद्धस्थल तिलौराकोट, निग्रोधाराम, गोटिहवा र निग्लिहवाको अशोक स्तम्भ पनि अवलोकन गरेका थिए । राजदूतको भ्रमण टोलीमा दूतावासका प्रथम सचिव ईई खिन पनि सहभागी थिए ।
