सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकः सधैं चुनावी नारा, बजेट अभावले काम सुस्त

एकैदिन हिमाल, पहाड र तराई भ्रमण गर्न सकिने एवं नेपालको एकमात्र सिकार आरक्षण बाग्लुङको ढोरपाटन जोड्न २०६५ सालमा यो सडकलाई सरकारले बहुवर्षीय योजनाको रुपमा अघि सारेको थियो।

फाल्गुन ९, २०८२

वीरेन्द्र केसी

Saljhandi-Sandhikharka-Dhorpatan road: Always an election slogan, work slows down due to budget shortage

What you should know

अर्घाखाँची — राष्ट्रिय प्राथमिकताको सालझण्डी–सन्धिखर्क–ढोरपाटन आयोजना १७ वर्ष पुग्दा ३८ प्रतिशत मात्रै काम भएको छ । सडकको ट्रयाक खुलेको छ । कालोपत्र, विस्तार र स्तरोन्नतिको काम बजेट अभावले सुस्त छ ।

१७ वर्षमा २४ किलोमिटर मात्रै कालोपत्र भएको छ । एकैदिन हिमाल, पहाड र तराई भ्रमण गर्न सकिने एवं नेपालको एकमात्र सिकार आरक्षण बाग्लुङको ढोरपाटन जोड्न २०६५ सालमा यो सडकलाई सरकारले बहुवर्षीय योजनाको रुपमा अघि सारेको थियो । 

१६ वर्षदेखि यही सडक चुनावी नारा बन्दै आएको छ । यो सडक निर्माण सुरुआतका बेला टोपबहादुर रायमाझीले अर्घाखाँचीको अवस्था बदल्ने, विदेशी पर्यटक भित्रिने, डाँडाकाँडामा रिसोर्ट बन्ने, कृषि, पशुपालनका फार्म खुलेर धेरै युवाले रोजगारी पाउने जस्ता भाषण सुनाउँथे । उनले आफुले सुरु गरेको यो योजनालाई देखाएर लगातार चार पटक चुनाव जिते ।

उनी भुटानी शरणार्थी प्रकरणमा तीन वर्षदेखि डिल्लीबजार कारागारमा थुनामा छन् । चार वटा चुनावमा रायमाझीले नारा बनाए पनि अरु दलका उम्मेदवारले यो सडकलाई खासै एजेण्डा बनाएनन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले जोडतोडले नारा लगाएका छन् । ‘ढोरपाटन सडकले अर्घाखाँचीको अवस्था बदल्छ, आर्थिक गतिविधि बढ्छ,’ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर चौहानले भने, ‘टोपबहादुरले सुरु गरेको योजनालाई मैले पूरा गर्छु । भोट दिनुस् ।’ 

हरेक चुनावी सभा, कार्यक्रम र घरदैलोमा उनले प्रमुख एजेण्डा नै ढोरपाटन सडकलाई अघि सारेका छन् । चुनाव जितेपछि संसदमा आवाज उठाउने, छिटो सम्पन्न गरेर सुचारु गराउनका लागि उनले भोट मागिरहेका छन् । ‘बहुआयामिक पर्यटकीय सडक हो,’ चौहानले भने, ‘ढोरपाटनमा सिकार खेल्न यही सडक हुँदै विदेशी पर्यटक आउजाउ गर्ने र स्वदेशी पर्यटकको पनि आकर्षणको केन्द्र बनाएर पर्यटन उद्यमबाट सयौं युवालाई रोजगारी सृजना गर्छु ।’

सडक सुचारु भएपछि अर्घाखाँचीको पटौटी, पाणिनि तपोभूमि, मैदान, अडगुरी, सदरमुकाम सन्धिखर्क, बाँगी, हंसपुरलगायतको ठाउँका अग्ला डाँडामा आर्थिक गतिविधि बढाउन सकिने उनले बताए । स्वदेशी तथा विदेशी पर्यटक भित्रिएपछि अर्थतन्त्र चलायमान हुने र कृषि उत्पादनका लागि धेरै फार्म सञ्चालन हुने उनले बताए । 

एमाले उम्मेदवार पिताम्बर भुसालले आफ्नै पार्टीका नेता रायमाझीले गरेको कामलाई आफुले पूरा गर्ने आश्वासन दिएर मत मागिरहेका छन् । उनले पनि ढोरपाटन सडकले पर्यटन उद्यमबाट अर्घाखाँचीका धेरै युवालाई स्वरोजगार बनाउने आश्वासन बाँडेका छन् । ‘मैले चुनाव जितेपछि छिटो काम सम्पन्न गरेर नियमित सडक सुचारु गर्न लाग्छु,’ भुसालले भने, ‘मेरो प्रमुख एजेण्डा यही सडक हो । यसले जिल्लाकै अवस्था फेरिन्छ।’

कांग्रेस उम्मेदवार विष्णुप्रसाद खनाल (मुस्कान) ले हरेक चुनावीसभा, कार्यक्रम र घरदैलोमा ढोरपाटन सडकको नाम लिन्छन् । हिमाल, पहाड र तराइलाई जोड्ने महत्वपूर्ण सडक भएकाले जतिसक्दो छिटो काम सम्पन्न गर्नुपर्ने उनको तर्क छ । उनले सडक बनेपछि कृषि उत्पादन, पशुपालन व्यवसायिक बन्ने, डाँडाकाँडामा रिसोर्ट खुल्ने, अर्घाखाँची पर्यटकीय केन्द्र बन्ने र स्थानीयले रोजगारी पाउने जस्ता कुरा गर्दै भोट मागेका छन् ।

चार वटा चुनावमा रायमाझीबाहेक अरु उम्मेदवारले यसअघि ढोरपाटन सडकको एजेण्डा खासै उठाएका थिएनन् । उनी थुनामा परेपछि बजेटको आकार घट्यो र काम सुस्त बन्यो । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना सूचना अधिकारी परीक्षा पौडेलले २४ किलोमिटर कालोपत्रमध्ये रुपन्देहीमा ५ अर्घाखाँचीमा, १८ र गुल्मीमा १ किलोमिटर भएको र निर्माण कार्य चलिरहेको बताइन् । यो आर्थिक वर्ष ३९ करोड बजेट विनियोजन भएको थियो । रकमान्तर गरेर २ करोड ७५ लाख रुपैयाँ थपिएको छ । यो वर्ष ७५ करोड रुपैयाँ माग गरिएको उनले बताइन् । 

तराईबाट पहाडी जिल्ला हुँदै छोटो दुरीमा सिकार आरक्ष र पर्यटकीय गन्तव्य ढोरपाटन पुग्ने सडकले पछिल्ला वर्ष बजेट अभावकै कारण गति लिन सकेको छैन । सुरुमा योजनाको अनुमानित लागत ८ अर्ब थियो । अहिले लागत बढेर ११ अर्ब पुगेको छ । १७ वर्षमा ३ अर्ब ५ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ । 

कार्यालयले माग गरे भन्दा आधा बजेट मात्रै सरकारले छुट्टाइरहेको छ । १५ किलोमिटर मधयपहाडी लोकमार्गमा पर्ने यो सडकको लम्बाई १ सय १७ किलोमिटर रहेको छ । जसमध्ये रुपन्देहीमा ५, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बाग्लुङमा ५० किलोमिटर पर्छ । ‘यो सडकले पर्यटन क्षेत्रमा ठूलो परिवर्तन गर्छ,’ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना प्रमुख गागलबहादुर भण्डारीले भने, ‘पर्यटक भित्रिएपछि आर्थिक गतिविधि बढ्छ । बसाइँसराई रोकिन्छ र छाडेका पनि व्यवसाय, उद्यमी गर्न फर्कन सक्छन् ।’

बजेट थोरै पर्दा सोचे अनुसारको काम नहुने र धेरै वर्ष लागेको उनले बताए । ठेकेदारले समयमै काम नगरिदिने र ठेक्का तोड्नुपर्ने जस्ता समस्या रहेको पनि उनले बताए । सबै सडक पूरा गर्न अझै थप डेढ अर्ब रुपैयाँ बजेट चाहिने भण्डारीले बताए । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully