फागुन २१ को निर्वाचनमा पाल्पा–२ बाट दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।सबै दलका उम्मेदवारले घोषणापत्रमा सिँचाइ, कृषिका मुद्दालाई अगाडि ल्याएका छन् । यसअघि पनि यीनै मुद्दा देखाएर चुनाव जितेर गएपछि माग सम्बोधन नभएको स्थानीयको गुनासो छ ।
What you should know
पाल्पा — तिनाउ गाउँपालिका–१ कचल आर्खोट्डीका लेखबहादुर सुनारी मगर कचल फाँट जाने सडकमा ढुंगा बिच्छ्याउने काम गर्दै थिए । त्यही सडक भएर तीन/चार दलका नेताहरु धुलो उडाउँदै, माइक बजाएर कचलफाँटतिर जाने/आउने क्रम चलेको छ ।
‘फागुन २१ को चुनावी सरगर्मी हृवात्तै बढेछ,’ सुनारीले साथीभाईसँगै भन्दै थिए, ‘दुई चार दिनअघिसम्म त खासै रौनक थिएन । माइक बजायो हिँड्यो नागरिकको पक्षमा काम गर्ने खासै केही होइन ।’ कामकै बीचमा पानी खान टहलिएका उनलाई सवारीसाधनले धुलो उडाएकामा खासै मन परेको थिएन ।
एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका झण्डा, माइक बजाएका गाडी गुडिरहेको उनले बताए । गाउँमा सिँचाइ, खानेपानी र रोजगारी नै प्रमुख समस्या भएको उनले बताए । ४५ घर रहेको यो गाउँमा सिँचाइका लागि ठूलो समस्या छ । यहाँ अम्लिसो खेती हुन्छ । स्थानीयले बाबियोको डोरी पनि बाट्छन् । केरा खेतीको प्रशस्त सम्भावना छ । ‘हाम्रो गाउँमा प्रमुख समस्या भनेको सिँचाइ नै हो,’ उनले भने, ‘पानी नभएपछि अहिले करेसाबारी र मौसमी तरकारीबाहेक अरु केही हुन सकेको छैन ।’
नजिकै रहेका कचलखोला र कुरमाखोलाबाट सिँचाइ योजना संचालन गर्न गाउँमा धेरै पटक छलफल भएको छ । तर कुरमानखोलाबाट ल्याउन भौगोलिक अवस्था पनि त्यति राम्रो छैन । अर्कोतर्फ २ नम्बर वडा दोभान खुर्सानेका बासिन्दाले पनि सहजै दिएका छैनन् । कचल खोलाबाट लिफ्ट गर्नुपर्छ । ‘तरकारी खेतीको राम्रो सम्भावना भएको गाउँ हो,’ उनले भने, ‘अहिले करेसाबारी र मौसमी तरकारी खेती गर्ने गरिएको छ ।’ यहाँका बासिन्दाले धान, तोरी, मकै, गहुँ खेती गर्छन् ।
स्थानीय नुरामती लम्तरी पनि सडक छेउमै घर भएर धुलोले हैरानी पारेको बताइन् । ‘सडकमा धुलो उडेकै छ । कुरमान खोलामा पक्की पुल बनेपछि भने अहिले केही सहज भए पनि कुलो, सडक र खानेपानीको योजना आवश्यक छ,’ उनले भनिन्, ‘चुनावका बेलामा सबै दलका नेताहरुले यो गर्छु, त्यो गर्छु भनेको सुनिन्छ । अनि फर्केर खासै आउँदैनन् ।’
यहाँ प्रशस्त केरा खेती, अम्लिसोको पकेट भए पनि स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिएको छैन ।
आर्खोट्डीमा खानेपानी चैत, वैसाखमा थोरै आउँछ । करेसाबारी, गाईबस्तुलाई समेत पुग्दैन । परम्परागत खेती प्रणालीमै दिन गुज्रेको छ । गाउँपालिकामा कृषि शाखा छ । जिल्लामा कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना तरकारी जोन पनि ८ वर्षदेखि संचालनमा छन् । जिल्लामा पालिकासँग समन्वय गरेर विभिन्न गैरसरकारी संस्थासमेत संचालनमा छन् । तर अहिलेसम्म कुनै सहयोग नपाएको उनले बताइन् ।
‘केरा खेतीको प्रशस्त सम्भावना भएको र पकेट क्षेत्र निर्माण गर्ने भन्ने सुनेको हो,’ उनले भनिन्, ‘तर अहिलेसम्म सरकारी बजेट व्यवस्थापन भएको छैन ।’ पिपयाङ्दी मुहानबाट आउने खानेपानी चैतदेखि जेठसम्म थोरै हुने उनले बताइन् । चुनावको रौनक यसपटक पहिला जस्तो नभएको उनले बताइन् । सबै नेताले हरेक पटक चुनाव जित्नका लागि आश्वासन मात्र दिने तर काम नगर्ने गरेको उनको गुनासो छ ।
तिनाउ गाउँपालिका कृषि शाखा प्रमुख हेमन्त शर्माका अनुसार समूह, सहकारीमार्फत् कार्यक्रम नभएको बताए । सामान्य मिनी टिलरको कार्यक्रम भए पनि अन्य कृषिका कार्यक्रम नगरिएको उनले बताए । ‘पकेट क्षेक्र वा अन्य मुख्य कार्यत्रम हामीले संचालन गरिएको छैन,’ उनले भने, ‘यसवर्ष वा अघिल्ला वर्षमा कार्यक्रम भएको छैन ।’
तिनाउ गाउँपालिकाको कचल २०७४ अघि क्षेत्र नम्बर ३ अन्तर्गत थियो । ०७४ पछि भने अहिले क्षेत्र २ भएको छ । स्थानीय तहमा २०७४ मा एमालेका ओमबहादुर घर्ती र २०७९ मा एमालेकै प्रेम श्रेष्ठ निर्वाचित भएका थिए। लुम्बिनी प्रदेशसभामा २०७४ र ०७९ दुबै पटक तत्कालीन माओवादीबाट तुलाराम घर्तीमगर विजयी भए। प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा एमालेका सोमप्रसाद पाण्डेय र २०७९ मा एमालेकै ठाकुरप्रसाद गैरे निर्वाचित भएका थिए ।
यसअघिका निर्वाचन जितेको एमालेले मात्र होइन, सबै दलका उम्मेदवारले घोषणापत्रमा सिँचाइ, कृषिका मुद्दालाई अगाडि ल्याएका छन् । यसअघि पनि यीनै मुद्दा देखाएर चुनाव जितेर गएपछि माग सम्बोधन नभएको स्थानीयको गुनासो छ । फागुन २१ को निर्वाचनमा पाल्पा–२ बाट दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
कांग्रेसका हिमालदत्त श्रेष्ठ, एमालेबाट ठाकुरप्रसाद गैरे, नेपाली कम्युनिष्ट पार्टीबाट सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापा मत माग्दै अहिलेसम्म यो गाउँमा पुगेका छन् । राप्रपाबाट डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामी (विशाल), नेशनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका टोपबहादुर अस्लामी, जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट खिकबहादुर रेश्मी उम्मेदवार छन् ।
यही क्षेत्रबाट मंगोल नेशनल अर्गनाइजेशनबाट मानबहादुर दर्लामी, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण शोभा मुस्याख्व, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, नेकपा माओवादीबाट बिष्णु ठडराई (सार्की) प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बोधराज जैसी उम्मेदवार छन् । मोहन कुँवर थापा मगर, केशवप्रसाद बस्याल स्वतन्त्र उम्मेदार छन् ।
क्षेत्र नम्बर २ अन्तरगत तिनाउ गाउँपालिकाको ५ बाहेकका ५ वडा, तानसेन नगरपालिका ८ बाहेक १३ वडा, माथागढीको १ नम्बर वडा चिदीपानी, रैनादेवी छहरा, रिब्दीकोटका ८/८ वडा, बगनासकालीको ९ वडा गरी ४४ वडा पर्छ । क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । उनका अनुसार ६६ मतदानस्थलमा १३४ मतदान केन्द्र रहेका छन् ।
