हरेक निर्वाचनमा भोट माग्न आउने उम्मेदवारले जग्गाधनी पुर्जा दिलाउने आश्वासन दिने गरे पनि जितेपछि फर्केर नआउने गरेको उनले गुनासो पोखिन् ।
बर्दिया — ८४ वर्षीय पुण्य थरुनी दाङबाट २०२४ सालमा बर्दियाको बालापुर आएकी थिइन् । त्योबेला यहाँ घनाजंगल र ऐलानी जग्गा थियो ।
‘त्यसबेला निकै कष्टका साथ दाङबाट बर्दिया सदरमुकाम गुलरिया नगरपालिका–५ बालापुर आएका थियौं,’ उनले भनिन्,‘जग्गाधनी पुर्जाको आशमै श्रीमानको मृत्यु भयो, अहिलेसम्म धरै दलले आश देखाए कसैबाट भएन।’
हरेक निर्वाचनमा भोट माग्न आउने उम्मेदवारले जग्गाधनी पुर्जा दिलाउने आश्वासन दिने गरे पनि जितेपछि फर्केर नआउने गरेको उनले गुनासो पोखिन् ।
पाँच दशकअघि यहाँको ऐलानी जग्गामा ७० जनाले अस्थायी टहरा बनाएर बसेका थिए । अहिले यहाँ २ सय ५६ घरधुरीले जग्गाधनी पुर्जा नपाएको बालापुरका बुद्धिप्रसाद थारुले बताए । ‘थुप्रै सुकुम्बासी आयोग बने जग्गाधनी पुर्जा बाड्ने आश्वासन दिए,’ उनले भने, ‘पाँच दशक बितिसक्दा पनि यहाँका २ सय ५६ घरधुरी जग्गाधनी पुर्जा प्राप्त गर्न सकेका छैनन् । जग्गाधनी पुर्जा नपाउँदै कतिपयका हजुरबुबा र बुबा समेत बितिसकेका छन् ।’
पछिल्लो पटक जग्गाको फिल्ड बुक बने पनि जग्गाधनी पुर्जा वितरण हुन नसकेको उनले सुनाए । ‘जग्गाको स्वामित्व नपाउादा बैंकबाट ऋण, कृषि विमालगायत सुविधाबाट बञ्चित छौं,’ उनले भने ।
स्थानीय दिनेश थारुले तीन पुस्ता बितिसक्दा पनि जग्गाधनी पुर्जा नपाएको गुनासो पोखे । ‘कति चुनाव आए गए, कुनै दलबाट जग्गाधनी पुर्जा दिलाउन कोशिष गरेका छैनन्,’ उनले भने, ‘अब तेस्रो पुस्ताले जग्गाधनी पुर्जा पाउनेमा विश्वास गरेका छौं ।’ बालापुरको मुख्य आम्दानीको स्रोत तरकारी खेती भए पनि लालपुर्जा नहुँदा ऋण लिएर लगानी गर्न नसकिएको बताए ।
