यतिबेला उम्मेदवारहरु मत मागिरहेका छन् भने स्थानीयले आफ्नो गाउँठाउँको विकासका मुद्दालाई प्राथमिकतामा राखेका छन्।
What you should know
रुकुम पूर्व — पुथा, सिस्ने र चुरेन हिमालसँगै आसपासका अग्ला पहाडमा सेताम्मे हिउँ छ । फागुन पहिलो साता बितेपनि रुकुम पूर्वका बस्तीमा तत्कालै चिसो कम हुने छाँट छैन । नजिकै आएको आमनिर्वाचनको सरगर्मीले भने माहोल तातिएको छ ।
आफ्नो घर–आँगनमा पुगिरहेका बिभिन्न दलका उम्मेदवारले यहाँका बासिन्दासँग अन्तरक्रिया गरिरहेका छन् । यतिबेला उम्मेदवारहरु मत मागिरहेका छन् भने स्थानीयले आफ्नो गाउँठाउँको विकासका मुद्दालाई प्राथमिकतामा राखेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल यसपल्ट रुकुम पूर्वबाट उम्मेदवार भएकाले यहाँको चर्चा साविकको भन्दा अलि धेरै छ । यसअघि समानुपातिकतर्फबाट संघीय सांसद भएकी कुसुमदेवी थापालाई कांग्रेसले उम्मेदवार बनाएको छ । एमालेका तर्फबाट केन्द्रीय सदस्य लिलामणि गौतम उम्मेदवार छन् । यससँगै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र प्रगतिशील लोकतान्त्रिक पार्टीलगायत दलका गरेर जम्मा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
जिल्लाका तीन वटै पालिकाका मुख्य–मुख्य ठाउँमा पुगेर मतदातासँग अन्तरंग गरेका नेकपाका उम्मेदवार दाहाल बिहीबार काठमाडौं फर्कँदैछन् । मतदातासँग भेटेपछि उनले यहाँका बासिन्दाले सबैभन्दा धेरै सडक विस्तार तथा स्तरोन्नतिको माग गरेको बताए ।
‘सडक यहाँका जनताको पहिलो माग छ । सँगसँगै पक्की र झोलुङ्गे पुलका साथै स्वास्थ्य, शिक्षा, उत्पादन वृद्धि, रोजगारी, उर्जा र पर्यटनका क्षेत्रमा सरकारको लगानी हुनुपर्ने भन्ने कुरामा पनि विशेष जोड छ,’ दाहालले भने, ‘विगतमा यहाँ केही नभएको भने होइन । तीनै तहका सरकार र यसअघिका जनप्रतिनिधिले साविकको अवस्थाबाट जनतालाई सुखी बनाउन र जिल्लाको विकास गर्न धेरै काम गरेका छन् । तर यतिले मात्रै पुगेको छैन ।’ रुकुम पूर्वको विकासका लागि सरकारी कदम थप गतिशील हुनुपर्ने महशुष राम्रोसँग गरेको उनले बताए।
चुनावी प्रचार–प्रसारमै व्यस्त रहेकी कांग्रेस उम्मेदवार थापाले २०६४ सालपछि यस भेगबाट एउटै पार्टी (साविक माओवादी)ले नै लगातार जितिरहेको तर उनीहरुले यहाँका जनअपेक्षा पूरा गर्न नसकेको जनगुनासो बारे बताइन् । ‘हुन त म पनि यसअघि सांसद भएको हो । तर समानुपातिक सांसद त्यो पनि पूरा अवधि हुन नपाउँदा योजना अनुरुप काम गर्न सकिन । यसकारण म प्रत्यक्ष निर्वाचित भएर बाँकी कार्यभार पूरा चाहन्छु,’ उनले भनिन्,‘आधारभूत विकास नै यहाँका जनताको पहिलो माग बनेको छ । र अब यसलाई पूरा गरेर जानुपर्छ भन्नेमा मेरो जोड रहन्छ ।’
पुथाउत्तरगंगा गाउँपालिकाका मतदातासँग भेटेर भूमे गाउँपालिकाका बिभिन्न वडामा अन्तरक्रिया गरिरहेका एमालेका उम्मेदवार गौतमले जनताले यतिबेला सुशासनसहितको विकास चाहेको बताए । ‘यसपल्ट यथास्थितीबाट परिवर्तन चाहेको पनि रुकुम पूर्व पूर्वबासीले भनिरहनुभएको छ,’ उनले भने ।
गौतमले आफु जिल्लाबासी भएकाले यहाँका माग र आवश्यकताबारे धेरै जानकार रहेको दाबी गर्दै मतदाताले यसपल्ट पाहुना उम्मेदवारलाई विश्वास नगर्ने भन्दै नेकपा उम्मेदवार दाहाल लक्षित टिप्पणी पनि गरेका छन् ।
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाका रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ र २ तथा पुथाउत्तरगंगा गाउँपालिकाका धेरै वडामा सडक सुविधा पुगेको छैन । बनेको सडक पनि गुणस्तरीय छैन । स्थानीयका आधारभूत आवश्यकतापूर्ति पनि अपेक्षित रुपमा हुन सकेको छैन ।
प्रत्येक चुनावमा उम्मेदवारले विकासको वाचा गर्ने तर जितेर गएपछि पूरा नगरेको गुनासो स्थानीयको छ । यसकारण आफ्ना आवश्यकता र माग सम्बोधन गरेर जिल्लाको समग्र विकास गर्ने उम्मेदवार नै आफ्नो रोजाईमा पर्ने स्थानीय बताइरहेका छन् ।
