प्रलोपा र एमालेबीच भएको सम्झौता अनुसार दाङमा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको प्रलोपाका जिल्ला संयोजक घनश्याम डाँगीले बताए ।
दाङ — प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नं. २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले एमाले उम्मेदवार शंकर पोखरेललाई सघाउने भएको छ ।
प्रलोपा र एमालेबीच भएको सम्झौता अनुसार दाङमा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको प्रलोपाका जिल्ला संयोजक घनश्याम डाँगीले बताए । कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा एक अर्काले सघाउने सहमति भए अनुसार दाङका तीन वटै क्षेत्रमा प्रलोपाका प्रत्यक्ष उम्मेदवार नरहेको उनले जानकारी दिए ।
दाङका सबै क्षेत्रमा एमाले उम्मेदवारलाई मतदान गर्ने निर्णय भएको उनले बताए । दाङ–२ मा प्रलोपाबाट प्रतिक अधिकारी उम्मेदवार थिए । हाल प्रलोपाका उम्मेदवार निष्क्रिय गरी गरी एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको उनले बताए ।
प्रलोपाबाट दाङ–३ मा घनश्याम डाँगी उम्मेदवार रहेकामा यसअघि नै एमाले उम्मेदवार घनश्याम पाण्डेलाई सघाउने निर्णय गर्दै डाँगीको उम्मेदवारी निष्क्रिय गरिएको थियो । दाङ–१ मा प्रलोपाको उम्मेदवारी नै परेको थिएन ।
दाङ–२ मा कांग्रेसबाट किरणकिशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टीबाट निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विपिन कुमार आचार्य मुख्य प्रतिस्पर्धामा छन् । यी प्रमुख दलका चार उम्मेदवारसँगै यस क्षेत्रबाट अन्य विभिन्न पार्टी र स्वतन्त्र गरी २२ जना उम्मेदवार छन् ।
