राजापुरका मतदाता प्रत्येक निर्वाचनमा नदी कटान, बाढीको समस्या, मलखादका साथै गुणस्तरीय शिक्षा र स्वास्थ्य माग गर्दै आएका छन् ।
What you should know
बर्दिया — ‘कर्णाली टप्पु’का रुपमा प्रसिद्ध जिल्लाको राजापुरका किसान वर्षौदेखि सिचाइँ र मल अभावबाट गुज्रिरहेका छन् । राजापुरलाई अन्न भण्डारका रुपमा प्रचार गरिएपनि स्थानीय बासिन्दा लामो समयदेखि सिचाइँ, मल र बीउकै समस्या झेल्न बाध्य छन्
राजापुरका मतदाता प्रत्येक निर्वाचनमा नदी कटान, बाढीको समस्या, मलखादका साथै गुणस्तरीय शिक्षा र स्वास्थ्य माग गर्दै आएका छन् । उम्मेदवार पनि यस्ता समस्या हल गरिदिने वाचा गर्छन् । तर, चुनाव जितेपछि फर्किएर बस्तीमा नआउने उनीहरुको गुनासो छ ।
यसपाली यहाँका मतदाता माग सम्बोधनसँगै प्रतिबद्धता पूरा गर्ने उम्मेदवारलाई भोट दिने बताउँछन् । राजापुर–२, का जिउधन थारुले नहर निर्माण आवश्यक रहेको बताए । तर, अहिलेसम्म सुनवाई नभएको उनले बताए । ‘अन्त कालोपत्रे भइसक्यो, हाम्रो गाउँको सडकको बिजोग छ,’उनले भने, ‘मलखादको चरम अभाव छ ।’
कर्णाली र गेरुवा नदीले घेरिएको नगरपालिका र गेरुवा गाउॅपालिकाका आ–आफनै समस्या छन । पालिकामा सडक सञ्जाल विस्तार हुँदै गएपनि वर्षातमा बाढीका कारण विस्थापित हुनुपर्ने समस्या रहेको बताए । कर्णाली र बुढी खोलाले खेतीयोग्य जमिन कटान गर्छन् ।
जुन उम्मेदवारले कटान रोक्ने प्रतिबद्धता व्यक्त गर्छन उसैलाई भोट हाल्ने राजापुर–८, का कर्णबहादुर ढुंगानाले बताए । सामान्य बिरामी हुँदापनि उपचार गर्न नेपालगन्ज पुग्नुपर्ने बाध्यता रहेको उनले बताए । गाउँमा सिचाइँ नहुँदा खेतीपातीमा समस्या हुने राजापुर–२, का विष्णु थारुले बताए । प्राथमिक तहको विद्यालय भएपनि माथिल्ला कक्षा पढाउन बालबालिका टाढा पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
