डहरेखोलामा बग्ने कालो लेदो जोखिमयुक्त ‘सक्रिय दरार’

अंगारखोलादेखि लुम्दी खोलाको बीचमा पहिरोहरु सक्रिय दरारका कारण गएको अध्यननमा देखिएको हो।

फाल्गुन ४, २०८२

सन्तोष महतारा

Black mud flowing in Dahar Khola is a dangerous 'active fissure'

What you should know

गुल्मी — बर्खायाममा डहरे खोलामा कालो लेदोसहितको खोला बग्छ । सत्यवती गाउँपालिका–६ स्थित रुद्रवेणी–वामी खण्डको यो खोलामा बग्ने कालो लेदो बर्खे भेल भनेर धेरैले बुझ्छन् । तर, एक अध्ययनबाट यो एउटा ‘सक्रिय दरार’ बाट भएको पुष्टि भएको छ ।

अंगार खोला (डहरे खोला) मा बगिरहेको कालो लेदो एक ‘सक्रिय दरार’ का कारण भइरहेको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका उप–प्राध्यापक हाल सह–परीक्षा नियन्त्रक भूगर्भविद् डा. कविराज पौड्यालले बताए। जुन हालैमात्र गरिएको अध्ययन अनुसन्धानबाट पुष्टि भएको हो ।  ‘बगिरहेको कालो लोदो कुनै बर्खे भेल होइन, यो त पहाड चिरा परेर जमिन चलायमान भएपछि बगिरहेको छ’, उनले भने, ‘यसलाई भौगर्भिक भाषामा सक्रिय दरार भनिन्छ, जुन स–साना भूकम्पको केन्द्रबिन्दु र विनाशकारी भूकम्पको स्रोत बन्न सक्छ ।’

अंगारखोलादेखि लुम्दी खोलाको बीचमा पहिरोहरु सक्रिय दरारका कारण गएको अध्यननमा देखिएको उनले बताए। नादेवा खोलाको दरार र त्यसले निम्त्याएको पहिरोको पनि अवलोकन गरेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुर र लुजान विश्वविद्यालय क्याम्पस स्वीजरल्याण्ड बीच सहमतिमा जल तथा मौसम केन्द्रीय विभाग कीर्तिपुर अन्तर्गत संचालित अनुसन्धान परियोजना नेपाल पाइन अन्तर्गत यो अध्ययन गरिएको हो । जुन यस क्षेत्रको रुद्रवेणी–उल्लीखोला क्षेत्रमा मापन गरिएको हो । भौगर्भिक रुपमा ‘सक्रिय दरार’ भनेर ‘वडिगाड एक्टिभ फल्वट’ भनिएको छ ।

सक्रिय दरार भन्नाले जमिन चिरा पर्नु र छुट्टिएका जमिनका टुक्रा चलायमान हुने अवस्था हो । जसका कारण स–साना भूकम्पको केन्द्रविन्दु हुन सक्ने र भविष्यमा विनाशकारी भूकम्पको स्रोत पनि बन्न सक्ने अनुसन्धानबाट पुष्टि भएको अनुसन्धानमा संलग्न अर्का युवा भूगर्भविद् गौरव ज्ञवालीले बताए ।

सक्रिय दरार भएको यस स्थानमा सडक, जलविद्युत् र सुरुङ जस्ता पूर्वाधार निर्माणमा दरारको अवस्था बुझेर मात्रै गर्नुपर्ने भूगर्भविद् डा. कविराज पौड्यालले बताए । सम्भावित विपद् न्यूनीकरणमा ध्यान पुर्‍याउनुपर्ने र जनचेतना जगाउनुपर्ने उनको भनाइ छ ।

जसका लागि तथ्यांकबाटै अनुसन्धान गर्न मौसममापन यन्त्र अन्तर्गत हालका लागि तापक्रम तथा बर्षामापन सत्यवती माध्यमिक विद्यालयमा राखिएको र भौगर्भिक शैक्षिक सामग्रीको अध्ययन र हस्तान्तरण गरिएको पौड्यालले बताए । मापन यन्त्रबाट समग्र स्थिति बुझ्न सहज हुने उनले बताए । यस अध्ययनमा संलग्न पौड्याल र ज्ञवालीसहित जल तथा मौसम विज्ञ डा. विनोद दवाडी र समाजशास्त्री तथा मानवशास्त्री डा. जीवन पौड्याल पनि रहेका छन् । 

सत्यवती माध्यमिक विद्यालयमा राखिएको जलवायु मापन केन्द्रले यससम्बन्धी सबै खाले सूचना दिने अपेक्षा राखिएको छ । रुद्रवेणी–वामी खण्डका वडिगाड नदी आसपासका पहिरो तथा अन्य जोखिमलाई पनि यसले केही हदसम्म अध्ययन गर्नेछ । मापन केन्द्र राख्दै उक्त विद्यालयका ६० विद्यार्थी र २० शिक्षकलाई पनि सक्रिय करार स्थल अवलोकन गराइएको थियो ।

हिमालय पर्वत श्रृङखला अन्तर्गत गुल्मीको यो भाग महाभारत पर्वत श्रृङखलामा रहेको र यो संरचनाको जन्म, विकासक्रम र दरार सम्बन्धी काठका मोडल बनाएर विद्याथीहरुमाझ प्रस्तुति राखिएको थियो । साथै सत्यवती तथा आसपासका क्षेत्रमा पाइने चट्टान, पहिरो, खनिज पदार्थ, र भौगर्भिक मोडलमा हिमालयको उत्पत्ति, चट्टान र खनिज बन्ने प्रक्रिया, पहिरो जाने कारण, रोकथामका उपाय सम्बन्धी विद्यार्थीलाई देखाउँदै उक्त बस्तु हस्तान्तरण समेत गरिएको हो । 

बडिगाड आसपासमा सक्रिय दरार र यसले निम्त्याउने जोखिम सम्बन्धी सचेतना यस विद्यालय हुँदै अन्य विद्यालयमा पनि बिस्तार गर्ने विज्ञ टोलीको तयारी छ ।  

सन्तोष महतारा

Link copied successfully