स्थानीय तहको कार्यसम्पादनमा बाँकेमा खजुरा पहिलो

७१.९९ प्रतिशत अंक प्राप्त गर्दै खजुराले सेवा प्रवाह, वित्तीय सुशासन, योजना कार्यान्वयन, पारदर्शिता र समन्वयका सूचकहरूमा सात पालिकालाई पछि पारेको हो।

फाल्गुन ३, २०८२

रुपा गहतराज

Khajura ranks first in Banke in local level performance

नेपालगन्ज — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा बाँकेका आठ स्थानीय तहमध्ये खजुरा गाउँपालिका पहिलो स्थान हासिल गर्न सफल भएको छ।

७१.९९ प्रतिशत अंक प्राप्त गर्दै खजुराले सेवा प्रवाह, वित्तीय सुशासन, योजना कार्यान्वयन, पारदर्शिता र समन्वयका सूचकहरूमा सात पालिकालाई पछि पारेको हो।

स्थानीय सरकार सञ्चालनका १७ वटा सूचकका आधारमा आयोगले हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ । 

गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले योजनाहरूको नियमित अनुगमन, लक्षित वर्गका कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा विकास निर्माणमा गुणस्तर कायम गरिएकाले सकारात्मक नतिजा प्राप्त भएको बताइन्। 
प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले कर्मचारीहरूको सक्रियता, समयमै योजना सम्पन्न गर्ने कार्यसंस्कृति र नेतृत्वसंगको समन्वयले  सफलताको आधार भएको बताए ।  

पालिकाका वरिष्ठ लेखा अधिकृतले बेरुजु न्यूनीकरण, मितव्ययी बजेट खर्च र आर्थिक पारदर्शितामा कडाइ गरेको बताए । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully