यहाँका मतदाता भने निर्वाचनपछि माग पूरा गर्नु त टाढैको कुरा चुनाव जितेका नेताहरु फर्केर समेत नआउने गरेको गुनासो पोखिरहेका छन् ।
What you should know
बर्दिया — भारतसँग जोडिएको गुलरिया नगरपालिका–१० रत्नापुरका बासिन्दा यतिबेला तोरी उखाल्ने, भित्र्याउने काममा व्यस्त छन् ।
प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जादा उम्मेदवारहरुले याे बस्तीमा पनि प्रचारप्रसार र भेटघाटलाई तिब्रता दिएका छन् । तर यहाँका मतदाता भने निर्वाचनपछि माग पूरा गर्नु त टाढैको कुरा चुनाव जितेका नेताहरु फर्केर समेत नआउने गरेको गुनासो पोखिरहेका छन् ।
खेतीपाती, दैनिक मजदुरी र वस्तुभाव पालेर जीविका गरिरहेका स्थानीयलाई चुनाव भन्दा गुजाराको चिन्ता छ। फुर्सदको समयमा उनीहरु कसलाई भोट दिए हाम्रो समस्या समाधान हुन्छ भनेर छलफल गरेका हुन्छन् ।
उम्मेदवारहरु यसपाली पनि गाउँका पुरानै मुद्दा अघि सारेर घरदैलो गर्दै आएका छन् । बाढी नियन्त्रण, भत्किएको पुल निर्माण, वन्यजन्तु आतंक नियन्त्रणलगायत रोजगारी दिने पुरानै आश्वासन दिन थालेका छन् ।
तर उम्मेदवारको आश्वासनप्रति मतदाता विश्वास गरिरहेका छैनन् । गुलरिया–१० रत्नापुरका राम सेवक लोध नयाँ र पुरानो दलका नेताहरुले गाउँका सबै समस्या समाधान गरिदिने आश्वासन बाँडिरहेको बताउँछन् ।
यसअघिका निर्वाचनमा पनि यस्तै आश्वासन पाइरहे पनि चुनावपछि कोही फर्केर नआएको उनले गुनासो पोखे। ‘किसानको समस्या, बाढी नियन्त्रण, रोजगारीलगायत आधारभूत समस्याले आक्रान्त रत्नापुरको अवस्था कहाली लाग्दो छ,’ उनले भने, ‘उम्मेदवारको आश्वासन चुनावसम्म भएकोले विश्वास लाग्न छाड्यो ।’
यो बस्ती शिक्षा–स्वास्थ्यको सुविधा, रोजगारीका अवसर र विकास पूर्वाधारबाट निकै पछाडि परेको छ ।
यो ठाउँका पुरानै समस्या दोहोर्याउँदै भोट माग्न थालेको स्थानीय माधुरी अहिर बताउँछिन् । ‘चुनावका बेला उम्मेदवारले सबै गर्छौं भन्ने तर गरिबको सुनवाई कहिल्ये हुँदैन,’ उनले भनिन्, ‘किसानका लागि सिँचाइ सुविधा छैन, समयमा मलखाद पाइदैन ।’
गुलरिया–९ का किसान मनोज तेली किसानका पीडा उम्मेदवार र जनप्रतिनिधि कसैबाट सुनवाई नहुने गरेको गुनासो गर्छन् । ‘नेपालमा मल नपाउँदा भारतबाट ल्याउने बेला सुरक्षाकर्मीले पक्राउ गर्छ,’ उनले भने, ‘चुनावमा चिप्ला कुरा गरेर सोझा मतदातालाई मख्ख पारेर भोट लिने गर्छन्, पछि कोही हेर्दैनन् ।’
गुलरिया–१० की कृष्णावती गोडियाले जनताका समस्याप्रति नेताहरु उत्तरदायी नभएको गुनासो गरिन् । ‘भोट माग्ने बेला नहुने काम पनि गर्छु भन्दै फर्किन्छन् । उम्मेदवारको खोक्रा आश्वासन पूरा हुने आशा छैन,’ उनले भनिन् ।
