शर्मालाई गोतामे पत्रकारिता स्वर्ण पदक

पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष रहेका ९५ वर्षीय शर्मा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष पनि हुन् ।

फाल्गुन २, २०८२

दुर्गालाल केसी

दाङ — पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जले यस वर्षको गोतामे पत्रकारिता स्वर्ण पदक दाङका अग्रज पत्रकार नारायणप्रसाद शर्मालाई प्रदान गरेको छ ।

शनिबार बिहान घोराहीमा आयोजित कार्यक्रममा शर्मालाई एक तोला सुनको तक्मासहितको पदक प्रदान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्का पूर्व अध्यक्ष पुरूषोतम खनालले तक्मा लगाई सम्मान गरेका थिए ।

९५ वर्षीय शर्मा पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष हुन् । उनी प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष पनि हुन् । शर्मा ४९ वर्षदेखि घोराहीबाट प्रकाशन हुँदै आएको नयाँ युगबोध दैनिकका संस्थापक हुन् ।

राजनीति, शिक्षण हुँदै पत्रकारिता र साहित्यमा क्रियाशिल शर्मा २०६३ मा पुनर्स्थापित संसद्को सदस्य थिए । उनले विभिन्न पुस्तक पनि प्रकाशन गरेका छन् । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले शर्माको योगदानको चर्चा गरेका थिए ।

२०६८ सालदेखि यो पुरस्कार वितरण गर्न थालिएको थियो । कान्तिपुरका पत्रकार प्रताप विष्टलाई पहिलो पुरस्कार दिएर यसको सुरुवात गरिएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताए । १० हजार राशीबाट सुरु भएको पुरस्कारमा आधा तोला सुन हुँदै हाल एक तोलाको सुनको पदक दिने गरिएको प्रतिष्ठानका सचिव हिमालचन्द्र गौतमले बताए ।

१९९६ मा वीरगन्जमा जन्मेका गौतमको २०४६ फागुन २ मा निधन भएको थियो । पत्रकारिता र साहित्यमा क्रियाशील गौतमको स्मृतिमा यो पुरस्कार स्थापना भएको प्रतिष्ठानका सदस्य प्रताप श्रेष्ठले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully