निर्वाचनमा तराईका सीमा व्यवस्थापन गर्न निर्देशन  

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटरमा शनिवार संगठनका उच्च अधिकृत तथा निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन उनले निर्देशन दिएका हुन् ।

फाल्गुन २, २०८२

माधव ढुंगाना

भैरहवा — भारतसित खुला सिमानाका कारण निर्वाचन प्रभावित तुल्याउने गतिविधि हुन नदिन सुरक्षा योजना कार्यान्वयन् गर्न सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहालले मातहत सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटरमा शनिवार संगठनका उच्च अधिकृत तथा निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन  उनले निर्देशन दिएका हुन् । सशस्त्र प्रहरी अन्तर्गत सीमा सुरक्षा विभाग प्रमुख रहेका दाहालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला शान्ति सुरक्षा कसरी प्रभावकारी तुल्याउन सकिन्छ भनेर तराईका सिमावर्ती जिल्लाको स्थलगत अनुगमनमा रहेका  छन् । 

‘सिमावर्ती जिल्लामा खुला सिमानाको अवस्था र त्यहाँबाट हुनसक्ने निर्वाचन विरुद्धका अवाञ्छित गतिविधिका बारेमा पूर्व सजगता अपनाउँदैं भरपर्दो सुरक्षा योजना बनाउन निर्देशन दिएको छुँ,’ दाहालले भने, ‘सबै जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिइरहेको छु ।’ 

पाँच दिन अघि डोटीबाट स्थलगत निरीक्षण सुरु गरेका उनी सुदूरपश्चिम हुँदैं लुम्बिनी आइपुगेका हुन् । यससँगैं मधेस र कोशी प्रदेशका जिल्लामा पनि निरीक्षण गरिने उनले बताए । निर्वाचनका बेला उत्पन्न हुने सुरक्षा चुनौती तत्काल समाधान गर्न, सुरक्षाकर्मीको प्रभावकारी परिचालन र सीमा निगरानी लगायत विषयमा तयार गरिएका सुरक्षा योजनाबारे विश्लेषण र परामर्श गरिएको उनले बताए । 

रुपन्देहीस्थित २७ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले रुपन्देहीको समग्र सुरक्षा अवस्था, सीमा क्षेत्रको संवेदनशीलता, निर्वाचनमा सशस्त्र प्रहरीको तैनाथी योजना तथा सुरक्षा चुनौतीका विषयमा योजनाबारे जानकारी गराएका थिए । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully